‘काठमाडौं महानगरमा मेरो लोकप्रियता बढेको छ’

काठमाडौ,७ कार्तिक । संघीय राजधानी काठमाडौंको मेयरमा चुनाव लड्न तत्कालीन एमालेका चर्चित नेताहरु लामवद्ध थिए । तर, पार्टीको नेतृत्वले यसअघि वडाध्यक्षका रुपमा रहेका ‘लो प्रोफाइल’ का नेता विद्यासुन्दर शाक्यलाई पत्यायो । र, उनी चुनाव जितेर महानगरपालिकाको मेयर बन्न सफल पनि भए ।

शाक्य कांग्रेसका राजुराज जोशीलाई करिब २० हजार मतले हराएर काठमाडौं महानगरको मेयर बने । मेयरमा निर्वाचित भएदेखि नै शाक्यलाई विवादै विवादले लखेटिरहेको छ । जनप्रतिनिधिलाई मोबाइल बाँड्नेदेखि आफ्ना लागि महंगो गाडी झिकाउनेसम्मका निर्णयबाट उनको सुविधाभोगी छवि बन्न पुग्यो । सामाजिक सञ्जालमा अत्यधिक गाली खानेमा उनी पनि पर्छन् ।

यद्यपि, पछिल्लो समय शाक्यको चर्चा केही मत्थर भएको छ । अनलाइनखबरसँगको कुराकानीमा उनले काठमाडौंमा आफ्नो लोकप्रियता पुनस्र्थापित भइसकेको सुनाए । आफूलाई असफल बनाउन सुनियोजित मिसन सञ्चालन गर्नेहरु आफैं असफल हुन थालेको शाक्यको निश्कर्ष छ ।

हिजो र आजको डाटा हेर्नुस । त्यो बेलाको फोटो र अहिलेको दृश्य दाँज्नुस् । हिजो आँखा हेर्न सक्ने स्थिति थिएन । नजिकैको गाडीको नम्बर प्लेट पनि पढ्न सकिन्नथ्यो । अहिले त्यति ‘भिजिविलिटी’ त छ नि । एक किलोमिटर टाढासम्म गाडी देख्न सकिन्छ
त्यसो त अत्यधिक आलोचनाले गर्दा हुन सक्छ, मेयर शाक्यले आफ्नो कार्यशैली केही बदलेका पनि छन् । उनी पहिलेभन्दा संयमित र व्यवस्थित लाग्छन् । अनाइनखबरका लागि चिरञ्जीवी पौडेल र रोयल आचार्यसँग करिब एक घन्टा कुराकानी गर्ने क्रममा उनी विवादित अभिव्यक्तिबाट बच्न निकै सचेत देखिए ।

प्रस्तुत छ, काठमाडौं महानगरका गतिविधि र विवाद श्रृंखलालाई लिएर मेयर शाक्यसँग गरिएको कुराकानी

काठमाडौंको मेयरमा निर्वाचित हुनुभएको दुई वर्ष भयो, व्यक्तिगत अनुभव कस्तो छ ?

पहिले गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने कोशिसमा छु । विभिन्न पार्टीका घोषणापत्रलाई अध्ययन गरेर त्यसमा भएका राम्रा कुरालाई पनि (कार्ययोजनामा) समेटेका छौं । केही काम सम्पन्न भइसकेका छन् । केही सुरु भएका छन् भने केही जारी छन् ।

कामहरु एउटै प्रकृतिका हुँदैनन् । कुनै काम निश्चित समयमा पूरा हुन्छन् । तर, मन्दिर, बाटो, फोहोर व्यवस्थापन जस्ता काम सँधै चलिरहन्छ ।

भोट माग्न जाँदा महानगरवासीलाई देखाएको सपना अहिलेसम्म कति पूरा गर्नुभयो ?

हामीले जे सपना देखेका थियौं र देखाएका थियौं, त्यसमा पुगिसकेका छैनौं । अहिले पनि मिहेनत गरिरहेका छौं । (हाम्रो काम गराइमा) विभिन्न समस्याहरु छन् ।

जुन देशमा संविधान सबैभन्दा पातलो हुन्छ, त्यहाँ काम गर्न सजिलो हुन्छ भन्छन् विज्ञहरुले । मोटो भयो भने संविधानले नै सबैलाई थिच्छ । अहिले हाम्रो संविधान नयाँ छ । संविधानअनुसार देशमा तीन तहका सरकार छन् । केही ऐन–कानून बन्न बाँकी छन् । त्यसैले केही अन्योल छ ।

विकास निर्माणका काम हामी पनि गर्छौं, संघीय र प्रदेश सरकारले पनि गर्छन् । त्यसैले कामको ‘डुब्लिकेसन’ र कार्यक्षेत्रहरु उल्लंघन हुन सक्ने अवस्थाहरु आउँछन् । हामी एउटा खाका कोर्छौं, तर संघीय सरकारका माननीयले बजेट ल्याएर अर्को किसिमले काम गर्छन् । त्यसैले हाम्रो भिजनअनुसार नतिजा ल्याउन कठिनाइ हुन्छ ।

तैपनि, सबैतिर मिलाएर अघि बढिरहेका छौं । काठमाडौं कस्तो बनाउने भन्ने सबैको साझा चिन्ता हो । यसमा सत्ता–प्रतिपक्ष पनि एकै ठाउँ हुनुपर्छ ।

दुई वर्षको अवधिमा महानगरवासीले अनुभव गर्ने गरी के–के काम गर्नुभयो ?

हामीले सडकका खाल्डाखुल्डी धेरै पुरिसक्यौं । सम्पदा पुनर्निमाणमा मुद्दा परेका बाहेक धेरै काम भएका छन् । कतिपय सम्पदा गुठीको नाममा छ । त्यसमा पुरातत्वले पर्याप्त सहयोग गरेको छैन । त्यसलाई पनि व्यवस्थापन गरिरहेका छौं ।

फोहोरमैलामा ठूलो समस्या थियो । अहिले पनि केही बाँकी छन् । ०६२ सालदेखि सिसडोलमा फोहोर फ्याँक्दै आएकोमा हाम्रो पालादेखि बन्चरेडाँडालाई फोहोर फाल्न योग्य बनाइँदैछ । यो हाम्रो उपलब्धी हो । यसका लागि सरकारले १ अर्ब ५६ करोड उपलब्ध गराउने निर्णय गरिसकेको छ । काम सुरु भइसक्यो । अब सिसडोलको समस्या समाधानतिर लागिरहेका छौं । सिसडोलदेखि बन्चरेडाँडासम्म बाटो बनाउने काम सडक विभागले अगाडि बढाएको छ ।

हामीले बोलेकामध्ये स्मार्ट पार्किङ नमूनाका रुपमा सुरु गर्‍याैं । सकारात्मक प्रतिक्रिया आएका छन् । अन्त पनि माग भएको छ । यातायातमा ‘पिक एन्ड ड्रप’ लागू गरेपछि देशभर यसको सिको गर्दैछन् । ट्राफिक जाम धेरै हटाइएको छ । हिजो आठ घन्टासम्म (जाममा) बस्नुपथ्र्यो । अहिले त्यस्तो छैन । धेरैलाई राहत भएको छ । काठमाडौं सफा गर्न पाँचवटा ब्रुमर ल्यायौं । त्यसले काम गरिरहेको छ ।

तर, पाँचवटा बु्रमर चलाउँदा पनि काठमाडौंको सरसफाईमा खासै सुधार आएको त देखिँदैन नि ?

बु्रमर चलाएर उपलब्धी नै नभएको होइन । समस्या अर्को पनि छ । जस्तो कि, यतिबेला धरहरा पुनर्निमाण भइरहेको छ । एउटा गाडी निस्क्यो भने सिंगो टुँडिखेलभरि फोहोर गरेर जान्छ । एउटा गाडीको फोहोरले समग्र सहर फोहोर भइरहेको छ । जथाभावी निर्माण सामग्री थुपार्ने गर्दा समस्या भयो । हामीले निर्माण व्यवसायीलाई पनि अनुरोध गरेका छौं, सकभर उहाँहरु आफैंले बुझ्नुपर्छ ।

फेसबुकमा लेख्ने र युट्युवमा भिडियो हाल्ने पनि पत्रकार हौं भन्छन् । हामीले कहाँको पत्रकार भनेर सोध्न पनि मिल्दैन । उल्टै ठूलो स्वर गरेर थर्काउन खोज्छन्
प्रधानमन्त्रीले त काठमाडौंवासीले मास्क लगाउनै छोडिसके भनेर संसदमै भन्नुभयो । तपाईं पनि यसमा सहमत हुनुहुन्छ ?

यो हाँसोमा उडाउनुपर्ने कुरा होइन । पूर्णरुपमा निमिट्यान्न भएको नहोला । तर, हिजोभन्दा ठूलो सुधार भएको छ । हिजो र आजको डाटा हेर्नुस । त्यो बेलाको फोटो र अहिलेको दृश्य दाँज्नुस् । हिजो आँखा हेर्न सक्ने स्थिति थिएन । नजिकैको गाडीको नम्बर प्लेट पनि पढ्न सकिन्नथ्यो । अहिले त्यति ‘भिजिविलिटी’ त छ नि । एक किलोमिटर टाढासम्म गाडी देख्न सकिन्छ ।

हो, हामी लक्ष्यसम्म पुग्न सकेका छैनांै । धेरै बाँकी छ । सबैभन्दा समस्या भनेको मेलम्ची खानेपानीले हामीलाई कामै गर्न दिएको छैन । धुलोको एउटा कारण मेलम्ची पनि हो । मिडियालाई चाहिँ जनप्रतिनिधिलाई गाली गर्न सजिलो हुन्छ । किनकि उनीहरुले प्रतिकार गर्दैनन् । हाँसेरै सुन्छन् । कर्मचारीलाई चाहिँ कसैले केही भन्दैन ।

अहिले हामीसँग खानेपानीको पाइप बिछ्याउने अधिकार छैन । प्राधिकरणको तार बिछ्याउने अधिकार छैन । सबैले बुझ्नुपर्ने, बुझाउनुपर्ने भनेको खानेपानी, विद्युतको काम गर्ने फरक निकायहरु छन् । मेरो घरअगाडि कसले तार तान्छ, मलाई नै थाहा हुँदैन । मेलम्चीले कहाँ खनिरहेको छ, मलाई थाहा हुँदैन । हामीले चिल्लो बनाएको सडक मेलम्चीले खनेर हिलाम्मे बनाइदिन्छ, अनि गाली मेयरलाई गर्छन् ।

खाल्डो खनेपछि पिच गर्ने जिम्मेवारीचाहिँ कसको हो ?

अहिलेको सम्झौताअनुसार जसले खन्यो त्यसैले बनाउने भन्ने छ । हामीले सडक विस्तार गर्दा पोल सार्न विद्युत प्राधिकरणलाई पैसा तिर्नुपर्छ । हालै मात्र मैजुबहालमा प्राधिकरणलाई ४१ लाख तिर्‍याैं । तर पनि धेरै ठाउँमा सडक बनिसक्दा पनि पोल सडकको बीचमै छन् । गाडी पोलमा ठक्कर खाएर दुर्घटना हुन्छन्, अनि मेयरलाई गाली गर्छन् ।

केयूकेएलले आफूले खनेको बाटो पुर्‍यो भने हामीले गाली खानुपर्दैनथ्यो । उसले टाइममा काम सकाइदिनुपर्छ । यस्ता कुरा बुझेर पनि कतिले बुझ पचाएका छन् ।

भनेपछि, जसले खन्यो, त्यसैले बनाउँछ भनेर महानगर चुपचाप बस्ने हो ?

मैले पटक पटक यही टेबलमा बैठक राखेको छु । मेलम्ची, प्राधिकरण, टेलिकम, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलाई राखेर छलफल गरेको छु । वैठकमा निर्णय सबै राम्रो गरिन्छ, तर कार्यान्वयन हुँदैन ।

अहिले मैले भनेको छु, तपाईंले नगर्ने भए मलाई अधिकार दिनुस, ता कि मेरो खर्च बेरुजु नआओस् । जति तपाईंले खर्च गर्ने हो, त्यो हामीलाई ‘डिपोजिट’ गर्नुस । हामी गर्छौं । अस्ति भर्खर बैठकमा केयूकेएललाई खनेको बाटो तुरुन्तै बनाइदिनुस् भनेका छौं । उसले गर्छु भन्ने प्रतिवद्धता जनाएको छ । सडक विभागसित पनि समझदारी गरेका छौं ।

अधिकार महानगरमा केन्द्रीकृत गर्नुपर्‍यो भन्ने तपाईंको आशय हो ?

त्योभन्दा पनि एउटाले गल्ति गर्ने, हामीले गाली खाने स्थिति हुनु भएन । योजनावद्धरुपमा समन्वयपूर्वक काम गर्नुपर्‍यो । जसले गरे पनि फरक पर्दैन । राज्यको अर्बौं पैसा खन्ने र पुर्नेमा जानुभएन ।

तपाईं महानगरको जिम्मेवारीमा आएयता बारम्बार विवादमा पर्नुभएको छ । काम गरेको छु भन्नुहुन्छ, तर मिडियामा तपाईंका बारे खासै राम्रा समाचार आउँदैनन् । सामाजिक सञ्जालमा पनि आलोचना अत्यधिक हुन्छ । यसमा आफू कहाँ चुकेको जस्तो लाग्छ ?

म मिडियामा त्यति बोल्दिनँ । प्रवक्ता राखेको छु । सबैलाई म आफैंले जवाफ दिएर हिँड्न पनि साध्यै छैन । फेरि, अहिले देशमा पत्रकार बग्रेल्ती छन् । फेसबुकमा लेख्ने र यूट्युवमा भिडियो हाल्ने पनि पत्रकार हौं भन्छन् । हामीले कहाँको पत्रकार भनेर सोध्न पनि मिल्दैन । उल्टै ठूलो स्वर गरेर थर्काउन खोज्छन् । मलाई लाग्छ, मूलधारका मिडिया जिम्मेवार हुनुपर्छ । यो अरु पेशा जस्तो होइन ।

तपाईंको नकारात्मक छवि निर्माणमा मिडियालाई कति दोष दिनुहुन्छ ?

सबैलाई दोष दिन्न । जिम्मेवार मिडिया पनि छन् । अहिले देशै हल्लाएको फेसबुकवालाले हो । फेसबुकमा ग्रुप बनाएर मिसन चलाइरहेका छन् । मिडियाको भन्दा उनीहरुको मिसन कडा देखिएको छ । मिडिया त एउटा निकायमा दर्ता हुन्छन् । तर, फेसबुकमा लेख्नेहरुले कतै दर्ता हुनुपर्दैन । न त लेखेको कुराको जिम्मेवारी लिनुपर्छ । मोबाइलबाट स्टाटस लेख्यो, सरकारलाई गाली गर्‍यो । तथ्यप्रमाण केही चाहिँदैन उनीहरुलाई ।

हेर्नुस, मेयर भनेको त आउँछ, जान्छ । तर, महानगर भनेको रहिरहन्छ । मेयर असफल हुनु भनेको महानगर असफल हुनु हो । त्यसैले म असफल हुँदा ४० लाख जनतालाई असर पर्छ । देशलाई आर्थिकरुपमा क्षति पुग्न जान्छ ।

मिडिया चौंथो अंग हो, तर अहिले त प्रथम अंग जस्तै भयो । कसैले मिडियामाथि प्रश्न उठाउन सक्दैन ।

आफ्नाबारे गलत खबर आएका छन् भने खण्डन गर्ने जाँगर किन गर्नुहुन्न ?

जिम्मेवार मिडियाबाट आयो भने खण्डन पनि गरिन्छ । तर, सबैको खण्डन गर्न सम्भवै छैन । ममात्रै होइन, ठूल्ठूला मिडिया हाउसहरु नै कायल भइसकेका छन् । मास पनि जसले धेरै गाली गर्छ, उसैको पछि लाग्छन् । उफ्रीउफ्री गाली गर्नेहरु भाइरल हुन्छन् । नरम स्वर राखेर भिजनसाथ बोल्नेको कुरै बिक्दैन ।
सामाजिक सञ्जालमा आउने गालीले तपाईंलाई कत्तिको विरक्त बनाउँछ ?

मलाई खासै असर गर्दैन । अहिले त माहोल धेरै मेरो पक्षमा आइसकेको छ । चुनावमा मैले जति भोट पाएको थिएँ, त्यो भन्दा धेरै भोट मेरो विपक्षमा खसेको थियो । मेरो पार्टीलाई ६४ हजार चानचुन आएको थियो भने अरु उम्मेदवारलाई कुल एक लाख जति आएको थियो होला । मेरो विरुद्धमा भोट दिनेहरुमध्ये धेरैले अहिले मलाई विश्वास गर्न थालिसक्नुभएको छ । अहिले हेर्ने हो भने हाम्रो पक्षमा बढी मत भइसकेको छ ।

तर, मिडियाको विश्लेषण त तपाईंका कारण काठमाडौंमा पार्टीकै भोट घटेको भन्ने छ नि ?

त्यो गलत हो । सुरुवातमा अलिकति विवादका कुराहरु आए । स्थानीय निर्वाचन लगत्तै संसदीय निर्वाचन हुँदैछ भन्ने सबैलाई थाहा थियो । त्यसैले संसदीय चुनावलाई प्रभावित बनाउने हिसाबले मेरोविरुद्ध नियोजित रुपमा मिसन चलाइएको थियो । तर, म चुपचाप आफ्नो काम गरिरहेँ । अहिले मेरो कामले धेरै राजधानीवासीहरु खुशी हुनुहुन्छ । (मेरो विरुद्धमा) कति देख्नुहुन्छ ? देख्नुहुन्छ कोही ? फेसबुकमा गाली गर्नेको कुरा नगर्नुस । यसरी गाली गर्ने धेरै विदेशमा बस्नेहरु हुन् । उनीहरुलाई यहाँको वस्तुस्थिति थाहा हुँदैन । उनीहरु फेक न्यूज पनि कपी गर्दै हजारौंंले सेयर गर्छन् । त्यसैले भ्रम सिर्जना हुन्छ ।

एउटा जनप्रतिनिधिको घरमा खाना पाक्छ कि पाक्दैन, बत्ति बल्छ कि बल्दैन, पानी आउँछ कि आउँदैन, कसैले विचार गर्छ ? तर, गाली गर्न कसैले छोड्नेवाला छैन । जनप्रतिनिधिले त भगवानले जसरी अरूले जे माग गर्छ, त्यो पुर्‍याइदिनुपर्छ ।
असन्तुष्टि देखाउन सडकमै उत्रिनुपर्ने हो र ?

काठमाडौंमा सबैभन्दा भित्रभित्र घुम्ने मै हो । मैले जति कसैले घुमेको छैन । तल गएर काम गर्ने मै हो । मलाई थाहा छ, महानगवासी अहिले के सोच्दैछन् ।

भन्नाले तपाईंको लोकप्रियता बढेको छ ?

पक्कै पनि । यसमा शंकै गर्नुपर्दैन । हिजो म चुनावमा उठ्दा यस्तो मान्छेलाई के पार्टीले टिकट देला भनेका थिए । मैले हामी २० हजार मतले जित्छौं भनेर घोषणा गरेको हो कि होइन ? पार्टी नेतालाई पनि त्यतिबेला विश्वास थिएन । तर, हामी त ग्रासरुटमा काम गर्ने मान्छे हौं । हामीलाई जनताको मनोभावना थाहा हुन्छ ।

मैले धेरै पत्रकारसँग संगत गरेँ । मलाई धेरै गाली गर्नेहरु पनि मलाई भेटेपछि सिथिल बन्छन् । ‘ए राम्रो मान्छे रहेछ है’ भन्छन् । आज मलाई धेरैले चिनिसके । धेरैले बुझिसके ।

हो, जनताको अपेक्षा धेरै थियो । सबै एकैचोटि त पूरा हुँदैन नि । पाँच वर्षको कार्ययोजना एक वर्षमा कसरी पूरा हुन्छ ? बेलुकाका लागि बिहानै खाना खान सकिन्छ ? एक वर्षको कोर्स एक महिनामै पढाउन सकिन्छ ? सकिँदैन । त्यसैले धैर्यता राख्नुपर्छ । नत्र सबैभन्दा हतारिने त मै हो । मेरो पदको आयु दिनदिनै घटिरहेको छ । आफैं पनि काउन्टडाउन गर्छु कति दिन बाँकी छ भनेर । मैले कोरेका सपना कति पूरा भए, कति भएनन् भनेर मूल्यांकन गर्छु ।

भोलि जनताले सोधेका हरेक प्रश्नको जवाफ दिनुपर्छ । हिजोजस्तै शीर ठाडो पारेर जान्छु भोलि पनि । हिजो नियोजितरुपमा मलाई विवादमा पारियो । आज त्यो अवस्था छैन ।

विवादमा पर्ने काम तपाईंले नै गर्नुभएको हो नि । निर्वाचित हुनासाथ जनप्रतिनिधिहरुलाई मोबाइल बाँड्नु सही निर्णय थियो ?

मलाई सोध्नुहुन्छ भने त्यो निर्णय ठिकै थियो । बेठीक थिएन । अहिले मेरो मोबाइल नम्बरको पछाडि ९०० छ । अरुलाई अन्तिममा १, २, ३, ४, ५ गर्दै सीम दिएका छौं । एउटा नम्बर थाहा पाएमा सबै वडा अध्यक्षको थाहा हुन सक्छ । त्यसले सेवाग्राहीलाई त सजिलो भएको छ नि ।

नियोजित रूपमा महानगरलाई असफल बनाउने कोसिस भइरहेको छ । विद्यासुन्दरलाई असफल बनाउँदा ४० लाख काठमाडौंवासीलाई असर गर्छ भन्ने नभुलौं
हामीले मोबाइल किन्नलाई दिएको ३० हजार हो । अहिले सामान्य व्यक्तिले पनि ५० हजारको मोबाइल बोक्छन् । मेरो कर्मचारीले नै एक लाखको बोकेका छन् । २४ घन्टा जनताको सेवा गर्ने जनप्रतिनिधिलाई राज्यले ३० हजारको मोबाइल दिनु ठूलो कुरा हो त ? सरकारले धेरै कर्मचारीलाई गाडी, मोटरसाइकल, ल्यापटप, आइप्याड दिन हुने, वडाअध्यक्षलाई एउटा मोबाइल दिन नहुने ?

सेवाको पाटो हेर्नुस त, कति गाह्रो छ । जनप्रतिनिधिको कुनै ‘वर्किङ आवर’ छैन । कर्मचारीहरु १० बजेभन्दा अगाडि र ५ बजेभन्दा पछाडि काम गर्दैनन् । जनप्रतिनिधि त सुतिरहेका बेला पनि फोन आयो भने दौडिनुपर्छ । एउटा जनप्रतिनिधिको घरमा खाना पाक्छ कि पाक्दैन, बत्ति बल्छ कि बल्दैन, पानी आउँछ कि आउँदैन, कसैले विचार गर्छ ? तर, गाली गर्न कसैले छोड्नेवाला छैन । जनप्रतिनिधिले त भगवानले जसरी अरुले जे माग गर्छ, त्यो पुर्‍याइदिनुपर्छ ।

तपाईंले महानगरभित्र कर्मचारीलाई काखा र पाखा गरेको सुनिन्छ नि ?

मसित कसैले यस्तो गुनासो गरेको छैन । तर, पक्कै पनि सबैलाई खुशी पार्न सकिँदैन । कतिपले चाहेको ठाउँमा सरुवा नपाएको असन्तुष्टि होला ।

जस्तो, हिजो मलाई पार्टीले मेयरको उम्मेदवार बनाउँदा पनि असन्तुष्टि थिए । योगेश भट्टराई, जीवनराम जस्ता हस्तीहरुले समेत अपेक्षा गरेको अवस्था थियो । मभन्दा धेरै सिनियर नेतालाई पन्छाएर मजस्तो जुनियरलाई जिम्मेवारी दिइयो । पार्टीको निर्णय सबैले माने । सबै लागेर मलाई जिताए । त्यसैले, महानगरमा पनि संस्थागत निर्णय सबैले मान्नुपर्छ । कसैले असहयोग गरेमा उसको कारणले महानगर पनि बिग्रिन्छ । कर्मचारीको मप्रति गुनासो छ भने मेरो पनि उहाँहरुप्रति गुनासो होला । अपेक्षा त मेरो पनि छ नि उहाँहरुको जस्तै । मैले कर्मचारीबाट सन्तोषजनक (कार्यसम्पादन) पाएको छैन ।

राजनीतिक आस्थाका आधारमा कर्मचारी वा अर्को पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट असहयोग भएको महसुस गर्नुभएको छ ?

असहयोग भन्दा पनि असमझदारीका एक–दुई विषयहरु आए । हामी बैठकमा सर्वसम्मतिले निर्णय गछौं । धेरै कुरामा उपमेयरले सहयोग गर्नुभएको छ । एक–दुई विषयमा चाहिँ उहाँ आफैं अस्पष्ट भएर वा अरुले उक्साएको भरमा लाग्नुभयो ।

एजेन्डा मेयरको भए पनि सबै संस्थागत निर्णय भएका छन् । पारित भएपछि त्यो सबैको एजेन्डा हो । त्यो निर्णय कार्यान्वयन गर्न सबै लाग्नुपर्छ । मैले भनेअनुसार नै हुनुपर्छ भन्यो भने त केही पनि हुँदैन । एउटा परिवारमा त सबै मिल्दैनन् ।

कुन–कुन वडाध्यक्षको कार्यसम्पादनबाट तपाईं बढी खुशी हुनुहुन्छ ?

सबै अध्यक्षले मेहनेत गरिरहेका छन् । महानगरभित्र भूगोल एकै किसिमको छैन । जनताको माग फरक छ । कुनै वडा ठूला त कुनै साना छन् । कुनै शिक्षा, सम्पदा, पूर्वाधारमा अगाडि छन् । केन्द्रमा भन्दा वडाअध्यक्ष, सदस्यले बढी काम गरेका छन् । उहाँहरुले काम गरेर त मैले जस पाइरहेको छु । नत्र मेयरलाई टिक्न दिन्छन् र ?

तर्पाईंले महानगरको विकास बजेट मुद्दति खातामा जम्मा गर्नुभएको छ । भएको बजेट बैंकमा राखेर ब्याज खाँदा विकासचाहिँ कसरी हुन्छ ?

यो पनि बुझाइको कुरा हो । सनकको भरमा उपप्रमुखज्यूले भन्नुभयो । उहाँलाई लागेछ कि मेयरले एक अर्ब आफ्नो खातामा राखेर ब्याज खाएछ भन्ने । मेरो स्टेटमेन्ट हेर्दा त छैन । कर्मचारीले मेरो खातामा पैसा राख्न सक्छ ? उ पनि डराउँछ नि । कोही पनि मान्दैन । अख्तियारले उसलाई लग्दैन ?

हिजो केही योजनाहरु समयमा कार्यान्वयन भएनन् । त्यो फ्रिज भएको बजेट महानगरको खातामा ‘फिक्स्ड डिपोजिट’ मा राखिएको हो, चाहिएको बेला झिक्न सक्ने गरी । त्यसको साढे ९ प्रतिशत ब्याज आउँछ । यत्तिकै राखेको भए त्यो आउने थिएन । महानगरलाई कहाँ घाटा भयो ? मेयरको कहाँ बदमाशी देखियो ? राज्यलाई त फाइदा गराएको छु नि ।

उदाहरणका लागि मानिसहरुले घर बनाउनका लागि आफ्नो जग्गा बेच्छन् । तर, जग्गा बेच्नासाथ तुरुन्तै घर बनिहाल्दैन । नक्शा पास गर्नै तीन महिना लाग्छ । त्यसैले जग्गा बेचेको पैसा तीन महिना ‘फिक्स्ड डिपोजिट’ मा राख्छन् । बैंकले दिएको यो सुविधा महानगरले पनि प्रयोग गरेको हो । महानगरको हितमा निर्णय लिइएको हो ।

अहिले पनि मुद्दति खातामा छ पैसा ?

हो, अहिले पनि छ । तर, यसले विकासको काम केही पनि रोकिएको छैन । हाम्रो खरिद प्रक्रिया नै जटिल छ । ६ महिना फाइल रोकिन्छ । छिटो काम भएको भए दुई अर्बभन्दा चानचुन भुक्तानी नै भइसक्थ्यो । कतिपय टेन्डर गर्छौं, त्यसको भुक्तानी पछि गरिन्छ । त्यो पैसा किन निस्क्रिय राख्ने ? चाहिएका बेलामा लोन लिएर पनि चलाउने हो । काम नभएको बेला ब्याज लिने हो ।

निर्माणाधीन भ्यूटावरमा महानगरले चासो दिन छोड्यो भन्ने सुनिन्छ नि ?

कुन चाहिँ भ्यूटावर ?

काठमाडौं भ्यूटावर, पुरानो बसपार्कको ।

के गर्नुपरो, भ्यूटावरमा ?

निर्माण अलपत्र रहेको अवस्था छ नि ?

हामी आउनुभन्दा अगाडि नै काम अगाडि बढेको थियो । हामीले मात्र केको अपजस लिने ? हामीले टेन्डर क्यान्सिल गर्‍यैं भने उसलाई क्षतिपूर्ति कसले तिर्छ ?

यसमा आन्दोलनको सुरुवात गर्ने माननीय भीमसेनदास श्रेष्ठ हुनुहुन्छ । उहाँ रक्षामन्त्री हुँदा मैले पटक–पटक घरमा भेटेर भनेको छु, क्याबिनेटबाट क्यान्सिल गराउनुस् । रानीपोखरीको काम रोकियो, योचाहिँ किन बनाउन दिएको ?

मन्त्री खोसिएपछि फेरि रोक्नुपर्छ भन्नुभयो । सबै दोष हामीलाई दिने ? मेयर बलीको बोको हो ? म एक्लैले त्यो निर्णय गर्न सक्दिनँ । मैले भनेको त्यति हो ।

केन्द्रमा पनि तपाईंकै पार्टीको सरकार छ, क्याबिनेटबाट निर्णय गराए भयो नि ?

मैले त सार्वजनिकरुपमा भनिरहेको छु । गाह्रो छ क्या ! धरहरामा अहिले ४० करोड क्षतिपूर्ति दाबी गरेर मुद्दा हालिएको छ । हिजो जोसँग सम्झौता गरेर काम गरेका थियौं, उसले ४० करोडको मागदाबी गरेको छ । कसले तिर्छ ? अदालतबाटै पत्र आएको छ । महानगर मात्रै जिम्मेवार हुने, अरु कोही पनि जिम्मेवार हुनु नपर्ने ?

महानगर भवन हेर्नुस, यस्तो जीर्ण छ । हरिभवन भनेर प्रमाणित हुँदाहुँदै त्यसलाई बागदरबार भनेर मुद्दा हाल्छन् । हुँदै नभएको बागदरबार । सुशील समशेर राणाले मैले बेचिसकेँ भनिसकेका छन् । अदालतले त्यही संरक्षण गर भन्छ । बागदरबार कहाँ छ ? चाहनुहुन्छ भने (प्रमाण) देखाइदिन्छु । भत्काएर बेचिसकेको छ । हामीलाई किन अवरोध भइरहेको छ सबैतिरबाट ?

सामाजिक सञ्जाल अहिले पनि म खासै चलाउँदिनँ । धेरैले मलाई तपाईंको समर्थनमा स्टाटस लेखेको छु भनेर सुनाउँछन् । तर, मलाई हेर्ने फुर्सद हुन्न । नेपालीहरू सामाजिक सञ्जालमा धेरै नै बरालिएका छन्
दरबार हाइस्कुल बन्यो । कसैको अवरोध भयो ? महानगरले बनाउँदाचाहिँ जहाँ पनि अवरोध गर्ने ? उद्देश्य के हो ? कसैको मिसन पूरा गर्न राज्यलाई अस्तव्यस्त बनाउने ? एउटा प्रोजेक्ट एक वर्ष ढिला हुँदा २० औं अर्ब घाटा हुन्छ । त्यो मेरो गोजीबाट होइन, राज्यबाट जाने हो । जनताको पैसा हो ।

अरु त अरु, दमकल भवन बनाउँदा पनि बखेडा हुन्छ यहाँ । काठमाडौंमा जुद्धसमशेरका पालामा कति जनसंख्या थियो ? अहिले कति छ ? यत्रो जनसंख्या बढ्दा दमकल थप्न नपर्ने ? दमकल भवन बनाउन किन रोकेको ?

पुरातत्वले हनुमानढोकामा नौ तले दरबारमुनि मम पसल राख्न अनुमति दिएछ । पुरातत्वले यस्तो गर्न पाउने कि नपाउने ? भक्तपुरमा न्यातपोल दरबारअगाडि रेस्टुरेन्ट राख्न दिने ? हामीलाई केही गर्न नदिने पुरातत्वको नीति हो ? नियोजितरुपमा महानगरलाई असफल बनाउने कोशिस भइरहेको छ । विद्यासुन्दरलाई असफल बनाउँदा ४० लाख काठमाडौंवासीलाई असर गर्छ भन्ने नभुलौं ।

तपाईं महानगरको काममा दैनिक कति समय खट्नुहुन्छ ?

खासमा हामी अझै पनि सिस्टममा चल्न सकेका छैनौं । त्यसैले काममा चाहिने पनि बढि समय व्यतीत गर्नुपर्ने अवस्था छ । कार्यक्रममा धेरै गए भनेर आलोचना गर्छन् । हो, यस्तो कार्यक्रममा धेरै समय खेर जान्छ । तर, हामीले ‘पब्लिक रिलेसन’ पनि त कायम राख्नुपर्छ । हिजो घरघरमा गएर भोट माग्ने, अनि आज बोलाएको ठाउँमा पनि नजाने गर्नु त भएन ।

वास्तवमा हाम्रो कार्यालय समय नै छैन । आज मैले दुई बजे बैठक बोलाएँ । बीचमा प्रधानमन्त्री कार्यालयबाट फोन आयो, त्यहाँ गएँ । त्यसलाई कार्यालय समय मान्ने कि नमान्ने ? घरमा पनि औपचारिक भेटघाटहरु गर्छु । ती पनि कार्यालय प्रयोजनकै हुन्छन् । घरमा बसेर पनि महानगरकै काम गरिरहेको हुन्छु । कर्मचारीजस्तो १० टु ५ बसेर जनप्रतिनिधको जिम्मेवारी निर्वाह हुँदैन ।

महानगरवासीलाई मेट्रो रेल र मोनोरेलको सपना देखाउनुभएको थियो, तर तपाईंका पालामा त सम्भव देखिएन हगि ?

मोनोरेलको डीपीआरका लागि सिफारिस गरेका छौं । डीपीआर हुँदैछ । यहाँ बुद्धिजीवीहरु कस्ता छन् भने, काम नगरेसम्म किन गरिनस भन्छन्, सम्झौता गरेपछि योभन्दा अर्को विकल्प राम्रो थियो भनेर आलोचना गर्छन् । यो काम गर्न नदिने नियत हो । हाम्रो योजना कार्यान्वयन भयो भने अर्को चुनाव पनि जित्छौं भनेर असफल बनाउन लागपरेका छन् । तर, हामी रोकिँदैनौं ।

तपाईंको कार्यकालमा मोनोरेलको काम कहाँ पुग्ला त ?

डीपीआरका लागि स्वीकृति दिएका छौं । सरकारका विभिन्न निकायहरुले पनि त्यही अनुसार सकारात्मक ढंगले काम गर्नुपर्‍यो । डीपीआर रिपोर्ट आइसकेपछि टेन्डर प्रक्रियामा जान्छौं । डीपीआर जसले बनायो, त्यही कम्पनीले पायो भने क्षतिपूर्ति दिनुपरेन । अर्कोले पायो भने अध्ययन खर्चवापत क्षतिपूर्ति दिनुपर्छ ।

तपाईंले केही समयअगाडि टीभी हेर्दिन, अखबार पढ्दििनँ, सामाजिक सञ्जाल चलाउँदिनँ, काठमाडौंको जनसंख्या थाहा छैन भनेर अन्तरवार्ता दिनुभएको थियो, जसलाई लिएर तपाईंको निकै खिल्ली उडाइयो । अहिलेको स्थिति चाहिँ के छ ?

त्योबेला मैले इमान्दारितापूर्वक जवाफ दिएको हो । सोध्नेले पनि इमानदारीपूर्वक नै सोधेको होला । मलाई सोधिएको थियो, काठमाडौंंको जनसंख्या कति छ ? मैले जवाफमा भनेको थिएँ, ०४८ सालको डाटामा नौ लाख ७५ हजार थियो । अहिले अनुमानित १७/१८ लाख छ भन्ने गरिन्छ । ट्राफिक प्रहरीले दशैंमा २५ लाख मानिस काठमाडौं बाहिर गएको भन्छ । यकिन डाटाचाहिँ कतै पनि छैन । मेयरलाई पनि थाहा छैन । यही हो मैले भनेको । यसलाई कसरी बुझ्ने ? अनुमानको भरमा ४०/५० लाख जनसंख्या काठमाडौंमा छ भन्छन् । तर, म अहिले पनि भन्छु कि यकिन डाटा थाहा छैन । कसैलाई थाहा छ भने भन्नुस् ।

बच्चामा स्कुल पढ्दा एकपटक मैले साथीलाई भनेँ, ‘मेरो कपाल गनिस् भने १०० रुपैयाँ दिन्छु ।’ उसले अञ्दाजमा भनिदियो, एक लाख वटा छ । मैले होइन, एक लाख पाँच वटा छ भनेँ । उसले भन्यो– कसरी ? मैले भनेँ– नपत्याए गनेर हेर । यस्तै हो । काठमाडौंको जनसंख्या । कसले गन्ने ? ०७८ सालमा तथ्यांक विभागले गन्यो भने डाटा आउला । नत्र छैन ।

जहाँसम्म मिडियाको कुरा छ, नेपालमा पत्रपत्रिका यति छन् कि पढेर साध्यै छैन । तपाईं पनि सबै पढ्नुहुन्न होला । टीभी यति छन् कि हेरेर साध्यै छैन । सबै हेर्न थाल्यो भने कति समय लाग्छ ?

म आफूलाई चाहिने, छानेर हेर्छु । कुनै मैले पढ्नुपर्ने, हेर्नुपर्ने खालको सामाग्री छ भने मेरो टिमले पनि जानकारी गराउँछ । अध्ययन गरेर मलाई आवश्यक कुराहरु सुनाउँछ । राजनीतिक व्यक्तिहरुले सबै आफै‌ं अध्ययन गर्ने होइन । टिमले हेर्ने हो । मकहाँ आउने फाइल सबै मैले हेर्छु र ? न्यूज पनि टिमले मलाई रिपोर्टिङ गर्छ ।

सामाजिक सञ्जाल अहिले पनि म खासै चलाउँदिनँ । धेरैले मलाई तपाईंको समर्थनमा स्टाटस लेखेको छु भनेर सुनाउँछन् । तर, मलाई हेर्ने फुर्सद हुन्न । नेपालीहरु सामाजिक सञ्जालमा धेरै नै बरालिएका छन् ।

दिनको पाँच घन्टा सामाजिक सञ्जाल चलाउनेले आफ्ना लागि, परिवारका लागि र देशका लागि के गर्छ ? मेरा बारेमा कसले के लेख्यो भनेर चाहार्न थाल्यो भने आफ्नो जिम्मेवारी वहन कहिले गर्ने ?

अहिले पनि तपाईंको फेसबुकमा अकाउन्ट छैन ?

अहिले कुनै पनि चलाउँदिनँ । मलाई सरोकार पनि छैन । साथीहरुले देखाउँछन् । चाहिने हेर्ने हो । सबै सँधै हेरिँदैन । आफैंले दिएको कतिपय इन्टरभ्यू पनि हेर्दिनँ । अरुले सुनाउँछन् । कहिलेकाहीँ फुर्सद भयो भने हेर्ने हो । पत्रपत्रिकाका समाचार कटिङ गरेर राखेका हुन्छन् साथीहरुले । राम्रा सुझावहरु छन् भने ग्रहण गर्छु । नराम्रो कुरा एक कानले सुन्ने र अर्कोले उडाइदिने हो ।
अनलाइनखबरबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here