रौतहट ,१३चैत।कोरोनाको त्राहीमाम् अनि, लक डाउन, आइसोलेशन र क्वारन्टाइनक‍‍ो मारले दुनियाँलाई छपक्क‌ै छोपेको छ अचेल। शहरिया जीवन हस्याङ्फस्याङ् गर्दै जीउ जोगाउन गाउँतिर फर्कंदै छ।
शरीर चौहद्दीको घेरो भित्र शान्त बस्न पनि सक्ला, मन होइन। केही सम्झनाहरू अजम्बरी हुन्छन्, ती कहिल्यै मेटिंदैनन्।


साँझ पख। मूल सडकको छेउको रेष्टुरेन्टमा कफी पिउँदै थिएँ। अचानक बाक्लो पानी पर्न थाल्यो। पानीका मोटा मोटा थोपाको गोदाइले बिचरो भूईं त्राहीत्राही थियो ——-

सम्साँझको बेला
बिजुलीले चहकिएको गोधूली
उल्का मच्चिएर बर्सिंदै बर्षा
मोटा बाक्ला बाक्ला पानीका थोपाहरूक‍ो
निर्मम चुटाइ खाँदै गरेको निर्दोष बिचरो भूईं
र, निथ्रुक्कै रूझेर रूखको हाँगामा काम्दै गरेकी एक्ली चरी।

बाटोमा कट्कटिएको धुलो सिनित्तै पखालिंदो छ
पखालिएको पानी खोल्सोमा बतासिएर बग्दो छ।

मन चञ्चले हुन्छ
त्यसैले त पल पल कोल्टे फेरी रहन्छ
उसले अहिले,
बाल्यकालको सम्झना तिर मलाई घचेटी घचेटी डोर्याउँदैछ।

गर्मीले घमरै घमरा आ’को जीउ
आकाशे पानीमा बेस्सरी नुहाउँदा
मन अति नै आल्हादित भएको,
खेतमा ट्यार्र ट्यार्र गर्दै गरेका छिर्बिरे भ्यागुताहरू,
बुरूक्क बुरूक्क बुर्कुसी मार्दै उफ्रिएको देख्दा
आफू पनि बुर्लुक्क उफ्रिएक‍‍ो
र, सडक बीच रहेको कल्भर्ट हुँदै सलल बग्दै गरेको पानीमा कागजको नाउ बनाएर बगाउँदा
रमाउनु सम्म रम्दै रमाएको,
सब‌ै सम्झनाहरू औधि ताजिएर आयो
अनि,
सेताम्मे फुलेकी एक बूढी आमाको यादले
अकस्मात् त्यही मनलाई चसक्क चस्कायो ।

केही बर्ष अघि वृद्धाश्रममा भेट हुँदा
उनी आँगन छेउको पेटीमा एक्लै घाम ताप्दै थिइन्।

तीन छ‍ोरा र चार छोरी थिए रे
ल‍ोग्ने अल्पायुमा बिफरले बितेको अरे
एक थ‍ोपो पनि आफूलाई बाँकी नराखी मायाको भाँडो,
तिनैका लागि, तिनकै सेवामा रित्याई हालिछन्
बिचरी ती आमा अब बेसहारा थिइन्
निर्दोष निष्फिक्री मायाले अन्तत: हरिकंगाल बनाएरै छाड्छ।

दुनियाँमा
सबैभन्दा निष्ठुरी, निर्दयी र बैगुनी
मान्छे मात्र हुन्छ, हुनसक्छ,
हुँदै आएको पनि छ।

रेष्टुरेन्टको अगिल्तिरको लाउन्जमा
बेजोड लाग्दै गरेको कफी पिउँदै गर्दा
पानी झन् झन् तोडले पर्दै थियो।

मेरो सामुन्नेको सडकमा ट्राफिक जाम छ
पर्दै गरेको पानीमा केही पल विश्राम छ।

भिजेका निन्याउरा निरीह आशाहीन रसहीन अनुहारहरू
अनेक अनगिन्ती देख्छु
शायद यिनीहरूको शहरमा कुन‌ै मूल्य छैन।

कालो बाइकमा सवार कालो भाइजर भा’को,
कालै हेल्मेट लगाएको युवकको पछिल्तिरको सिटमा
सुन्तले ज्याकेट लगाई टाँसिएर बसेकी एक युवतीको
उन्मुक्त अट्टहास हाँसोले मेरो आँखा तिनैतिर मोडिन्छ।

प्रेमको
आँखा हुँदैन
कुनै सीमा हुँदैन
समय हुँदैन
कारण हुँदैन
अनि,
नाता र साइनोको
कुन‌ै अजम्बरी शिलालेख हुँदैन।

पानीले पखालिएर होला,
झनै धपक्क बलेको ती युवतीको हर्षित मुहारमा
वृद्धाश्रमकी तिन‌ै अभागी बूढी आमाको
मलिन अनुहार देख्दै थिएँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here