काठमाडाैं, ४ जेठ।जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले देशमा स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखिएका वेला पनि त्यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नआएको बताएका छन् ।

स्वास्थ्यमा सामान्य उपकरण पनि उपलब्ध नभएको भन्दै उनले सरकारको कटाक्ष गरे । उनले भने, ‘अहिले मूल चारवटा संकट छ । स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखापरेको छ । यसलाई कसरी हल गर्नेबारे स्पष्ट छैन । स्वास्थ्यमा न्यून सङ्ख्यामा वार्डसमेत छैन । औषधि, उपकरण छैन । जनशक्ति छैन । यसको व्यवस्थापन कसरी गर्ने अत्तोपत्तो छैन । रोगसँग लड्न सक्ने अवस्था रहेको छैन ।’

नीति तथा कार्यक्रमले महामारीलाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ । संकटलाई रोक्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन राहत व्यवस्था गर्नुपर्ने भए पनि नीति तथा कार्यक्रमले त्यता ध्यान नदिएको उनले बताए । कोरोना रोकथामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएको उनको भनाइ छ । ‘सरकारले लकडाउन र न्यून परीक्षणबाहेक केही गरेको छैन,’ उनी भन्छन् ।

विदेशबाट आउने नेपाली नागरिकलाई व्यवस्थित गर्नेबारे पनि नीति तथा कार्यक्रमले केही नबोलेको उनको भनाइ थियो । ‘विदेशबाट आउने नेपाली नागरिकलाई कहाँ राख्ने भन्ने सरकारको दृष्टिकोण नै छैन । युवाहरूलाई देशमा पूर्वाधर विकास, कृषि र साना उद्योगमा व्यस्त गराउने याेजना खै ?’ उनले भने, ‘आर्थिक संकटको रूपमा हेर्दा राजनीतिक स्थिरता दिएर सरकार बन्यो, तर बजेट खर्च गर्ने क्षमता नै छैन सरकारसँग ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here