काठमाडाै,२५ साउन।नेपाली समाज एक प्रकारको लकडाउनकै बीचबाट विकास भएको हो । स–साना गाउँमा मानिसहरु झुण्ड बनाएर बसेका थिए । व्यक्तिहरु कुनै न कुनै रुपबाट आत्मनिर्भर थिए । घरमा पशुपालन थियो, दूध–घिउ घरमै उत्पादन हुन्थ्यो । मासु खान पर्‍यो भने कुखुरा, ढुक्कुर, कालिज मारेर खान्थे । कुखुरा, च्याखुराको अण्डा खान्थे । खाद्यान्नमा आत्मनिर्भर थिए ।

यातायातको कुनै साधन थिएन । मानिस पैदल नै यात्रा गर्थे । सूचना प्रविधिका माध्यम थिएनन् । धेरैपछिसम्म पनि चिठीपत्रका माध्यमबाट सूचना आदान–प्रदान हुन्थ्यो । यातायातमा हुने–खानेहरु घोडा चढ्थे, अरुका लागि त्यो सुविधा पनि थिएन ।

जुत्ता गाउँमै सिलाइन्थ्यो । कछाड र इस्टकोट लगाएका हाम्रा बाउबाजे ती कपडा घरमै बनाउथे । अहिले पनि सुदूरपश्चिमका केही जिल्लामा घरमै कपडा बनाएर लगाउने मानिस भेटिन्छन् ।

बाहिरी दुनियाँसँग त्यति धेरै चासो र सम्पर्क नहुने र एउटा सीमित स्थानमा आफ्नै दैनिकी गुजारेरै नेपाली समाज यहाँसम्म आइपुगेको हो ।

हामी शहरलाई केही समय पर राखेर सोचौं न ।

अहिले पनि ७५ प्रतिशत बन्द समाज छ । काठमाडौंको कुल जनसंख्यामध्ये २२/२३ लाख मानिस मात्र यहाँका स्थायी बासिन्दा होलान् । अरु सबै मानिसको कुनै न कुनै रुपबाट त्यो बन्द समाजसँग साइनो छ । हामी नियमितरुपमा गाउँसँग जोडिन्छौं । यो समाज उत्पादनसँग जोडिएको समाज हो । अरुमा कम भर परेर आफै सक्षम बनेको समाज हो नेपाल ।

त्यसकारण हामीले देख्यौं, लकडाउन शुरु भएको केही दिन सडकमा अत्यधिक मानिस निस्किए । मानिसहरु १२/१३ दिनसम्म पैदल यात्रा गरे र गाउँ फर्किए । यसको मतलब, शहरमा हाहाकार भए पनि गाउँमा भोकै मरिन्न भन्ने आशा मानिसमा थियो । गाउँले हिजोदेखि निर्माण गरेको विश्वासले नै उनीहरुलाई शहरबाट दुख–कष्ट भोगेरै भए पनि गाउँसम्म फर्काएको हो ।

विगतमा जस्तै लकडाउन जति लम्ब्याए पनि अब त्यसले पार्ने खाडल त्यति ठूलो हुँदैन । किनकि विगतमा हामीले सामाजिक लकडाउनको साटो सिधै आर्थिक लकडाउनमा गएकै कारण तत्काल ठूलो क्षति व्यहोरेका हौं । माथि उल्लेख भएजस्तै शहरमा बसेका धेरै मानिस अहिले पनि गाउँसँग जोडिएका छन् । सरकारसँग कम आश्रित बढी आत्मनिर्भर छन् ।

त्यसकारण रोजगारीमा मात्र पूर्ण निर्भरबाहेक आत्मनिर्भर मानिसलाई कम क्षति गर्छ । त्यसकारण पनि नेपालको अर्थतन्त्र तत्काल कमजोर हुन्छ भन्ने हुँदैन । नागरिककै कारण पनि अर्थतन्त्र सक्षम बनिरहेको हुन्छ । अमेरिकामा कृषि पेशामा एक प्रतिशत मानिस होलान् । उनीहरुले ९९ प्रतिशत मानिसलाई पुग्ने खाद्यान्न उत्पादन गर्छन् ।

त्यहाँ त्यो एक प्रतिशत मानिसको काम प्रभावित हुँदा अधिकांश मानिस समस्यामा पर्छन् । हामी त शहरमा पनि सानो क्षेत्र देखे पनि तरकारी फलाउने मानिस हौं, स–सानो परिमाणमा भए पनि यस्ता गतिविधिले राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको हुन्छ ।

कोरोना महामारी शुरु भएपछि नेपालले करीव ९० दिन घोषित लकडाउन गर्यो । त्यसमध्ये पहिलो २१ दिन पूर्ण लकडाउनको अवस्था थियो । तर, त्यसपछि भने क्रमशः पसल खुल्न थाले । मानिसहरुको गतिविधि बढ्यो । २१ दिनपछि नेपालमा गम्भीर प्रकृतिको लकडाउन थिएन ।

चैतमा वैदेशिक रोजगारी डामाडोल हुने र त्यसले बेरोजगारी दर भयावह हुने अनुमान धेरैले गरेका थिए । त्यसबेला मैले नै भनेको थिएँ, वैदेशिक रोजगारीलाई कोरोनाले जति सोचिएको छ, त्यति असर नै गर्दैन । किनकि विदेशमा नेपाली जुन काममा आवद्ध छन्, त्यो अत्यावश्यक समयमा पनि गर्नैपर्छ ।

नेपालमा तपाई जतिसुकै कडा लकडाउन भन्नुहोस्, सामाजिकरुपमा त्यो सम्भव छैन
उनीहरुको विकल्प तत्काल अर्को हुन सक्दैन । उदाहरणका लागि सुरक्षा गार्डमा खटिएको सुरक्षाकर्मीको कोरोना महामारीका बीचमा पनि जागिर जाँदैन ।

११ चैतमा गरिएको लकडाउन अर्थतन्त्रका गतिविधिमाथि मात्र लकडाउन भएको थियो । त्यस समयमा सरकारले सामाजिक गतिविधिमा लकडाउन लगाउन सकेन । नेपाली मनोविज्ञान वा संस्कृति तपाई जे भन्नुहोस, हामी नेपाली अलि बढी सडकमा निस्कन्छौं । त्यो पनि सामूहिकरुपमा । झुण्ड बनाएर चिया खाँदै कुराकानी गर्ने रहर गर्छौं ।

सडकमा पनि पैदल हिँड्दै गफिने हाम्रो स्वभाव हो । विदेशमा तपाई सडकमा यति धेरै मानिस देख्नुहुन्न । काठमाडौंभन्दा ठूलो जनघनत्व भएको शहरमा पनि सडकमा यसरी मानिस भेट्न निकै मुस्किल पर्छ । त्यसकारण हामी सडकमा अलि बढी निस्कन्छौं, लकडाउनमा पनि सडकभर मानिस निस्किए । त्यसकारण त्यो बेला हामीले अर्थतन्त्रमा त निकै कडा लकडाउन गर्यौं । तर, सामाजिक लकडाउन गर्न सकेनौं ।

पाँच बजे उठेर मन्दिर जाने मानिसलाई तपाईले लकडाउनका बाहनामा रोक्न सक्नुभएन । एक घण्टा पैदल हिँडेर पशुपति मन्दिरलाई टाढैबाट भए पनि दर्शन गर्न जाने मानिसलाई लकडाउनले कुनै प्रभाव पारेन । सरकारले सामूहिक कार्यक्रमहरु नगर्नू भनेको थियो । नेपालमा दुलाहा–दुलहीले मास्क लगाएरै भए पनि विवाह गरे, सामाजिक काम र गतिविधि रोकिएनन् । रोकिएको मात्र आर्थिक गतिविधि थियो ।

त्यसकारण नेपालमा तपाई जतिसुकै कडा लकडाउन भन्नुहोस्, सामाजिकरुपमा त्यो सम्भव छैन । मानिसलाई घरभित्र राख्न निकै मुस्किल छ । गाउँमा प्रौढ मानिस बिहानको खाना खाइसकेपछि घरमा बस्ने गरेको पाउनुहुन्छ ? उहाँहरु चौतारोमा भेटिनुहुन्छ । त्यसकारण घरमा नबस्ने नेपालीको बानी नै भयो ।

जब लकडाउन लामो समय लम्बियो, श्रम गरेर खाने वर्गसँग विकल्प पनि हुन्न । अहिले विभिन्न प्रकारको श्रम गर्ने मानिसलाई सोध्नुहोस्, किन घर बाहिर निस्किएको भन्यो भने ‘सरकारले खान दिन्छ र ?’ भन्ने प्रतिप्रश्न पाइन्छ । त्यसको जवाफ के हुन्छ ?

त्यसकारण अब अर्थतन्त्रमाथि लकडाउन गरेर कोरोना नियन्त्रण हुन्छ भन्ने सोच्नुहुँदैन । लकडाउन मानिसलाई घर भित्रै राख्न गरिने हो । उद्योग बन्द गरेर मात्र संक्रमण फैलनबाट रोकिन्छ भन्ने होइन, सडकमा मानिसलाई रोक्नुपर्यो । हामीले देख्यौं, शहरमा नै मानिस घर भित्र बसेनन् भने गाउँमा तपाई कसलाई घरभित्र राख्नु सक्नुहुन्छ ?

त्यसकारण अबको विकल्प मानिस आफैलाई सचेत र चेतावनी दिएर कोरोनाबाट बचाउने हो । सुर्ती र मदिरा सेवनविरुद्धको विज्ञापनमा तपाई सुन्नुहुन्छ, जिन्दगी तपाईको हो, तपाईले यी पदार्थ सेवन गर्दा हुने हानीले परिवारलाईसमेत हानी र क्षति गरिरहेको हुन्छ । यो सचेतना अब कोरोनाविरुद्ध पनि दिनुपर्यो । कोरोना नलागेसम्म सुन्दर रहेको जीन्दगी तपाईको असुरक्षित आनीबानीका कारण जोखिममा त छैन ?

यो सन्देश अब आम मानिससम्म फैलाउनुपर्यो । नेपालीहरु तुलनात्मकरुपमा सफा सुग्घर बस्न रुचाउने समुदाय पनि हो । त्यसलाई अलि बढी बढावा दिनु आवश्यक छ । बरु माक्स र स्यानिटाइजर निःशुल्क बाँडौं, कोरोनाले गर्ने क्षति र भोलि परिवारमा पर्ने चोटबारे अलि बढी प्रचार गरौं, अब लकडाउन भन्दा पनि सचेत भएर आर्थिक गतिविधिलाई निरन्तर अगाडि बढाऔं ।

संक्रमणलाई न्यूनीकरण गर्दै जनजीवन सामान्य बनाउनेतर्फ लाग्नुको विकल्प हामीसँग छैन । सामाजिक दूरी कायम गर्दै गतिविधि सुचारु राख्नुपर्छ । बरु सचेतना, सतकर्ताका लागि तपाई राजनीतिक दलका भातृ संगठनलाई प्रयोग गर्न सक्नुहुन्छ ।

अहिले सामाजिक सञ्जालमा बसेर नेतालाई उकास्न उद्दत युवालाई समुदायमा खटाएर सचेतनाका काम बढाऔं । जोखिम भएका क्षेत्रबाट नागरिकको छिटो उपचार, समुदायको सरसफाइ र किटाणुरहित बनाउने काममा उनीहरुलाई प्रयोग गरौं ।

मानिसलाई कोरोनाले जीवनमा पार्ने क्षति, त्यसले परिवारमा हुने विचल्लीबारे सचेत गराऔं । काम नरोकौं, अनावश्यक गतिविधि नियन्त्रण गरौं । काम नभई घर बाहिर जाने र सडकमा बरालिने काम बन्द गरौं ।

(पूर्वअर्थसचिव खनालसँग अनलाइनखबरकर्मी अच्युत पुरीले गरेको कुराकानीमा आधारित)सभार अनलाइन खवर।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here