अरविन्द कुमार यादव
रौतहट ,३० चैत्र । नेपाल पत्रकार महासंघ रौतहट शाखाको नव निर्वाचित भएका पदाधिकारीहरुले कुनै कार्य नगर्न ,गराउन उच्च अदालत बिरगंजले आदेश जारी गरेको छ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शपथग्रहण तथा पदभार ग्रहण नगर्न, नगराउन उच्च अदालतले आदेश गरेको छ ।
सदस्य दिनेश यादवले भने अनुसार निर्वाचन प्रक्रिया जालसाजी भएको भनी हालेको उत्प्रेषण परमादेशको मुद्दामा आज उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले हालका लागी रौतहट शाखाका कामकारवाही रोक्न अन्तरीम आदेश गरेको हो ।

जिल्ला शाखाको निर्वाचनमा प्रयोग भएको एकथान मतपत्र समेत बाहिरिए पछि पत्रकारहरुको रौतहटको निर्वाचननै शंकाको घेरामा परेको छ । निर्वाचन समितिले राष्ट्रिय परिषदमा दुई जना निर्वाचित हुनुपर्नेमा चार जनालाई निर्विरोध निर्वाचित गराएको छ भने जिल्ला शाखा सदस्यमा निर्विरोध निर्वाचित हुनुपर्ने राकेश यादव र रामपुकार राउत समेतको नाम मतपत्रमा उल्लेख गरेको थियो । यसरी विधानमा उल्लेख भए भन्दा बढी व्यक्ति निर्विरोध निर्वाचित गराउने र शाखाका चार सदस्य मध्ये दुईवटा मात्रै उम्मेदवारी परेर निर्विरोध निर्वाचित भएका व्यक्तिको समेत नाममा मतदान गराए पछि समितिनै खारेज गरी नयाँ निर्वाचन गराउनु पर्ने माँग उठेको छ ।

२५ चैतमा भएको शाखाको निर्वाचनमा गलतमतपत्रको प्रयोग, उम्मेदवारले भरेको अनुसुचीमा त्रुटी तथा निर्वाचन समितिले नै उम्मेदवारहरुको मनोनयन पत्रमा एक पदको सट्टा अर्को पद उल्लेख गरी त्रुटीपूर्ण मतदानको कार्यक्रम गरेको भन्दै रौतहट शाखाका सदस्य दिनेश यादवले पत्रकार महासंघ रौतहट शाखा विरुद्ध मुद्दा दायर गरेका हुन ।

यादव आफुले सह सचिवको खुल्ला समुहमा उम्मेदवारी मनोनयन दर्ता गराएका थिए भने निर्वाचन समितिले समावेशी तर्फ राखेर निर्वाचन गराएको थियो।एकातर्फ सदस्य पदमा मनोनयन दर्ता गराएका धिरेन्द्र साहलाई सहसचिवमा उम्मेदवारी कायम गराएको थियो । दाबी विरोधको समयमा उजुरी गर्दा समेत निर्वाचन समितिले आफूहरुको कुरा नसुनेर एकपक्षीय रुपमा निर्णय गर्दै निर्वाचन गराएको उनको तर्क छ ।
अन्तरिम आदेशमा विपक्षी निर्वाचन समितिलाई निर्वाचनको सम्पूर्ण सक्कल कागजात सहित बैशाख ५ गते अदालतमा हाजिर हुन समेत न्यायधिश रमेशकुमार पोखरेलको इजलाशले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here