अरविन्द कुमार यादव
रौतहट , ०८ फागुन।आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट जिल्लामा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा बुधबार जिल्लाको यमुनामाई गाउँपालिका वडा नं १ मा आयोजित एक विशाल कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गरी सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।
नवप्रवेशीहरूलाई नेकपाका सह-संयोजक पूर्व प्रधानमन्त्री एवं रौतहट क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार माधव कुमार नेपालले टिका र खादा ओढाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा यमुनामाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विकासप्रेमी नेता जिताउने लक्ष्य
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशीहरूले रौतहटको समग्र विकासका लागि विकासप्रेमी नेताको रूपमा चिनिएका माधव कुमार नेपाललाई जिताउनुको विकल्प नरहेको बताए। रौतहटको मुहार फेर्न र अधुरा विकासका आयोजनाहरूलाई पूर्णता दिन आगामी चुनावमा नेपाललाई भारी मतले विजयी गराउने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रमका मुख्य अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो मन्तव्यका क्रममा विगतका वर्षहरूमा आफूले रौतहटको विकासका लागि गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरे । उनले भन्ने
हामीले रौतहटमा सडक, पुल र तटबन्ध निर्माणमा ठुलो फड्को मारेका छौँ। अबको हाम्रो मुख्य एजेन्डा शान्ति, सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र युवाहरूका लागि स्वरोजगार हुनेछ।
उनले आगामी दिनमा भौतिक पूर्वाधारसँगै सामाजिक रूपान्तरणका योजनाहरूलाई प्राथमिकता दिने कुरामा जोड दिए।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता रेवन्त झाले पनि आफ्नो धारणा राखेका थिए। उनले नेकपाको संगठन रौतहटमा निकै बलियो रहेको दाबी गर्दै जनभावना अनुसार पार्टीले काम गर्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा हुने विकास निर्माणका कामहरूमा जनताको प्रत्यक्ष सहभागिता रहने समेत बताए।
नेकपाको चुनाव प्रचार-प्रसार समिति तथा केन्द्रीय सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा महिला, वृद्धवृद्धा तथा युवाहरूको उल्लेख्य सहभागिताले रौतहटमा नेकपाको पक्षमा जनलहर सृजना भएको संकेत गरेको छ। कार्यक्रममा उपस्थित स्थानीय जनसमुदायले आफ्ना जिज्ञासा र समस्याहरू राख्दै पार्टीप्रति उच्च मनोबल व्यक्त गरेका थिए।
यमुनामाई गाउँपालिकामा भएको यो वृहत् पार्टी प्रवेशले आगामी निर्वाचनमा रौतहट क्षेत्र नं १ मा माधव कुमार नेपालको पकड अझ बलियो बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको ठहर छ।

