मोहम्मद अफताब हासमी
रौतहट, बैशाख ५
रौतहट जिल्लाबाट यस वर्ष हज यात्राका लागि साउदी अरेबिया जान लागेका हाजीहरूलाई लक्षित गरी आज एक दिवसीय प्रशिक्षण तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। राजपुर नगरपालिका–१ अन्तर्गत पिप्रा भगवानपुर स्थित मदरसा दावतुल कुरान, बहुअर्वामा सम्पन्न उक्त कार्यक्रम नेपाल हज कमिटीको आयोजनामा भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल हज कमिटीका अध्यक्ष थिए। उनले आफ्नो सम्बोधनमा हज यात्राको आध्यात्मिक महत्त्व, प्रक्रिया र अनुशासनबारे जानकारी दिँदै सहभागी सबै हाजीहरूलाई सफल हज यात्रा र सुखद अनुभवको शुभकामना व्यक्त गरे।
कार्यक्रममा जिल्ला प्रशासन र सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। रौतहट जिल्ला प्रमुख विनोद कुमार खड़का, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरे, सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रहरी उपरीक्षक (एसपी) सन्तोष कुमार बस्नेत, ईलाका प्रहरी कार्यालय राजपुरका वरिष्ठ नयाब निरिक्षक अशोक कुमार कुर्मी,राजपुर नगरपालिका–१ का वडा अध्यक्ष शेख अमिरुल, नेपाल मुस्लिम संघ रौतहट जिल्ला अध्यक्ष मोहम्मद अब्दुल्लाह तथा हज कमिटीका सदस्यहरु लगायतका मुस्लिम समुदायका अगुवा एवं नेताहरूको उपस्थिति रहेको थियो।
प्रशिक्षण सत्रमा हज यात्राको प्रक्रिया, स्वास्थ्य सुरक्षा, कागजी प्रक्रिया, साउदी अरेबियाको स्थानीय नियम–कानुन, धार्मिक विधि र आचारसंहिता सम्बन्धी जानकारी दिइयो। साथै, सहभागीहरूलाई हजका विभिन्न चरणबारे प्राविधिक जानकारी समेत प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा मुस्लिम समुदायका सदस्यहरूको ठूलो उपस्थिति देखिएको थियो। हाजीहरूको स्वागतमा धार्मिक भावना झल्किने सांस्कृतिक प्रस्तुतिहरू पनि राखिएका थिए। सहभागी हाजीहरू र अतिथिहरूले यस्तो कार्यक्रमले हज यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम सफल बनाउन स्थानीय मुस्लिम समाज, मदरसाह दावतुल कुरानका व्यवस्थापन समिति, र नेपाल हज कमिटीको समन्वयमा गरिएको सहकार्यको प्रशंसा गरिएको थियो।