अरविन्द कुमार यादव
गौर,१३ जेष्ठ ।रौतहटको शहरी क्षेत्र अवस्थित आरोही होटेल चन्द्रपुर स्थित एआई सम्बन्धि एकदिने अभिमुखिकरण भएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका स्थित होटल आरोहीमा सोमबार साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजना गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले गरेका थिए । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले एआईको प्रयोग, प्रभाव र सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए । तेस्रो सत्रमा पत्रकार प्रकाश मैनालीले डिजिटल मिडियाका अवसर र चुनौतीबारे सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुरका नगरप्रुख काफ्लेले पत्रकारिता राष्ट्रलाई अग्रगामी दिशा देखाउने माध्यम भएको उल्लेख गर्दै लुकेका तथ्यहरू उजागर गरी समाजमा नयाँ आयाम दिन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई समाजप्रति उत्तरदायी र सुसूचित बनाउने दृष्टिकोण प्रदान गर्ने बताए । पूर्व केन्द्रीय सदस्य शिवपुरीले कार्यक्रम आयोजना गरेकोमा आमसञ्चार प्राधिकरणलाई धन्यवाद दिंदै पत्रकारले यस्ता विषयमा ज्ञान लिन आवश्यक रहेको उल्लेख गरेका थिए ।
नेपाल पत्रकार महासंघ राैतहटकी उपाध्यक्ष विनाराउत श्रीवास्तवले प्रविधिको विकाससँगै पत्रकारितामा नयाँ पुस्ताको अग्रसरता उल्लेखनीय रूपमा देखिएको बताएकी छन् ।
उनले अहिलेको डिजिटल युगमा पत्रकारिता पनि तीव्र रूपमा परिवर्तन हुँदै गएको उल्लेख गरिन्। उनले भनिन्, “प्रविधिले नयाँ पुस्ताका पत्रकारलाई धेरै अगाडि लगिसकेको छ। उनीहरूले प्रविधिको सही उपयोगमार्फत समाचार संकलन, सम्प्रेषण र विश्लेषणमा नयाँ आयाम थपिरहेका छन्।”
एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगबारे पनि उनले सबै पत्रकारले आधारभूत ज्ञान लिनुपर्ने आवश्यकता औंल्याइन् । “आजको पत्रकारितामा एआईको भूमिका बढ्दो छ, त्यसैले यसको प्रयोग, सम्भावना र चुनौतीबारे सबैले जान्न जरुरी छ,” उनले भनिन् ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले प्रविधिसँग नजिक रहेका पत्रकारहरूलाई दक्ष बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मोफसलमा कार्यरत पत्रकारहरूलाई साइबर सुरक्षा र एआईसम्बन्धी जोखिमबारे सजग गराउने उद्देश्यले तालिम दिइएको बताए ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले मधेस प्रदेशका आठै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै पत्रकारहरूलाई यसको लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।