रौतहट ,४ माघ ।रौतहटको वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रंजय पटेल हाजिर भएका छन् ।
विहीवार आयोजित एक कार्यक्रमकाबीच वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत रंजय पटेल हाजिर भइ कार्यभार सम्हालेका हुन् ।
निकै लामो समयदेखी प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको वृन्दावन नगरपालिकाले विहिवार मात्र प्रशासकीय अधिकृत पाएको छ । जनप्रतिनिधिबीचको आन्तरिक विवाद र किच्लोका कारण सो पालिका विगत चार महिना देखी प्रमुख प्रशासकीय अधिकृत विहिन रहदै आएको थियो ।
शाखा अधिकृत पटेल केहि दिन अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वृन्दावन नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।
नगर प्रमुख विनोद प्रसाद कुर्मी सहित वडा अध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितीमा प्रशासकीय अधिकृत पटेल पालिकामा हाजिर भइ पदभार समेत ग्रहण गरेका छन् ।
नगर प्रमुख कुर्मीले उनलाई हाजिर गराएका हुन । प्रशासकीय अधिकृतको पदभार सम्हालेका पटेललाई नगर प्रमुख कुर्मी सहित ७ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले फुलमाला तथा अबिर लगाइ दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए ।
पदभार सम्हालेका प्रशासकीय अधिकृत रंजय पटेलले जनप्रतिनिधिहरुले साथ दिए वृन्दावन नगरपालिकालाइ एक उत्कृष्ट नगरपालिका बनाउने आफनो सोच रहेको बताएका छन् ।
जनप्रतिनिधिको साथ र सहयोग विना हाकिम एक्लै केहि गर्न नसक्ने भएको हुँदा आफुले गर्ने हरेक काममा जनप्रतिनिधहरुलाई साथ दिन उनले आग्रह गरे ।
नगरलाई उत्कृष्ट, नमुना र विकसित बनाउन जनप्रतिनिधिहरुको अनिवार्य साथ र सहयोगको आवश्यक्ता रहेकोले उनिहरुलाई साथ दिन उनले अनुरोध गरे ।
आफुले सबै पक्षसंग हातेमालो गरेर नगरलाई देशमै चिनाउने गरी उत्कृष्ट कामहरु गरेर देखाउने सोचका साथ प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको उनले बताए । कानुनले दिएको अधिकार प्रयोग गरी कसैलाई कुनै प्रकारको काखापाखा नगरी आम नागरिकलाई छिटोछरितो सेवा उपलब्ध गराउने प्रशासकी अधिकृत पटेलले प्रतिवद्धता जनाएका छन् ।
पटेलले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने समेत बताए । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख पटेलले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
सो क्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले लामो समयपछि आफना पालिकाले प्रशासकीय अधिकृत पाएकोले नगरमा अब विकास निर्माण लगाएत कार्यले गति लिने विश्वास व्यक्त गरेका छन् ।
कानुनको परिधि भित्र रहेर कानुनले दिएको अधिकार प्रयोग गरी कसैसंग नडराइ निर्धक्क भएर काम गर्न मेयर कुर्मीले प्रशासकीय अधिकृत पटेललाई आग्रह गरेका थिए ।
विगतका नगर प्रमुखले आफना पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गर्ने बाहेक अरु कुनै ठोस काम गर्न नसकेको बताउँदै उनले विगतका मेयरले पाँच वर्षमा गर्न नसकेको कामहरु आफुले केहि दिनमै गरेर देखाउँदा विपक्षीहरु आतिएको बताए ।
आफुले विकास निर्माण लगाएतका कार्य तिव्र गतिमा अगाडि बढाएको देखेर विपक्षीहरुको निद्रा नै हराम भएको उनले बताए । आफना कामले डराएका विपक्षीहरु आफुलाई असफल सावित गर्न विभिन्न हत्कण्डा अपनाइरहेको भएपनि उनिहरुको जालझेल र सडयन्त्रबाट आफुलाई कुनै फरक नपर्ने बताएका थिए ।
नगरमा विकास निर्माणका काम अवरुद्ध गर्न विपक्षीहरु हात धोएर आफना पछि परेको बताउँदै उनले विपक्षीले जति सडयन्त्र गरेपनि उनिहरुको योजनालाई आफुले विफल पारिदिने बताए ।
नगरमा विकास निर्माणका कामहरु अगाडि बढन नदिन विपक्षीले पछिल्लो ६ महिनादेखी पालिकालाई हाकिम विहिन बनाएर राखेको उख्खेल गर्दै जुन हाकिम आएपनि कुनै न कुनै बहाना बनाइ असफल सावित गरिदिने र पालिकामा बस्नै नसक्ने गरी उपद्रो मच्चाउने गरेका कारण हाकिमलाई टिकाउन समस्या हुने गरेको बताए ।