मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय
जनकपुरधाम, ९ माघ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारबाट निकाल्ने तयारी गरेकाले जनमत पार्टी सरकारबाट बाहिरिएको टिप्पणी गरेका छन् ।
उनले जनमत पार्टीका मन्त्रीहरूले सरकारलाई असहयोग गर्नेगरी तारन्तार बदमासी गरेकाले बर्खास्त गर्ने तयारी गरेकै बेला उनीहरूको राजीनामा आएको बताए ।
‘यसले सरकारको स्वास्थ्यमा असर पर्दैन । बरु सरकारको प्रभावकारितामा वृद्धि हुन्छ,’ मुख्यमन्त्री यादवले मंगलबार साँझ टोलपडोससँग भने ।
प्रदेश सरकारलाई प्रदेशसभाका सतप्रतिसत अर्थात् एक सय तीन सदस्यको समर्थन रहेकोमा १३ जना जनमत पार्टीका सदस्यका समर्थन फिर्ता भएकाले विश्वासको मत लिन आफू बाध्य नभएको भन्दै मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिने प्रस्ट्याए ।
सरकारलाई अस्तव्यस्त पारिरहने सुरुदेखि नै जनमत पार्टीको नियत रहेको आरोप लगाउँदै उनले सप्तरीमा कृषि विश्वविद्यालय बन्न नदिन भिसी र रजिस्ट्रारलाई कुटपिट गरी विश्वविद्यालयमा ताल्चा लगाउने घटनाबाट जनमतको बदमासी असह्य बन्न पुगेको बताए ।
सरकारमा सहभागी भएका बेला एक मन्त्रालय रहेको जनमतलाई थप एउटा मन्त्रालय आफूले दिएको भन्दै मुख्यमन्त्री यादवले विभिन्न जिल्लामा यातायात व्यवस्था कार्यालय आदि विस्तार भइरहँदा जनमतकै श्रम तथा यातायात मन्त्रीलाई आफूले उद्घाटन गर्न अवसर दिएकाले जनमतप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको जिकिर गरे ।
सरकारबाट बाहिरिँदा जनमत पार्टीले मुख्यमन्त्री यादवमाथि पक्षपातपूर्ण, संकीर्ण र क्षुब्ध व्यवहार गर्दैआएको आरोप लगाएको छ । मुख्यमन्त्री यादवले जनमत सरकारबाट बाहिरिँदा सत्तामा सहभागी पाँच दल खुसी भएको बताए ।
मुख्यमन्त्री यादवले रिक्त दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा सरकारमा सहभागी पाँच दलसँग छलफल गर्ने बताए । सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरी छिट्टै मन्त्री नियुक्त गरिने उनले बताए ।टोलपडोस