ओम प्रकाश यादव
रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं अधिवेशन सम्पन्न गरेको हो ।
नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट ११ वटा विभिन्न महत्वपूर्ण निर्णयहरु सर्वसमतीले पारित गरिएको छ ।
अधिवेशनले आर्थिक वर्ष २०७९÷८० मा भुक्तानी हुन बाँकी रहेका सम्पन्न योजना र कार्यक्रमहरुको रकम यस चालु आर्थिक वर्षमा भुक्तानी गर्ने, विभिन्न शीर्षकहरुमा रहेको रकम अन्य शिर्षकहरुमा रकमान्तर गरी बाँकी योजनाको रकम भुक्तानी गर्ने, नगरसभाले पारित गरेको विभिन्न योजनाहरु फेरबदल गर्ने लगाएतका निर्णय पारित गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिएका छन् ।
प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, नगर प्रहरीको संचालन र व्यवस्थापन गर्न विधेयक, स्थानीय उद्योग÷व्यवसाय दर्ता, नविकरण, व्यवस्थापन र नियमन गर्ने विधेयक, गत आ.व. २०७९÷८० को भुक्तानी हुन बाँकी रहेको योजना÷कार्यक्रमहरुको रकम भुक्तानी गर्ने सन्दर्भमा नगर कार्यपालिकाले गठन गरेको अनुगमन समितिले सिफारिस गरेको सम्पन्न योजनाको भुक्तानी गर्न नगर कार्यपालिकाको कार्यालयलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।
यस नगरपालिकामा विभिन्न पदमा करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गरि नगर कार्यपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउन तत्काल आवश्यक्ता र औचित्यका आधारमा दैनिक ज्यालादारीमा कामकाज गराउने निर्णय पारित गरिएको छ ।
नगर कार्यपालिकाको बहुमत सदस्यहरुद्धारा उक्त ११ वा विभिन्न निर्णयहरु सर्वसम्मत ढंगले पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले बताएका छन् ।
प्रत्येक स्थानीय तहले नगरसभाबाट पारित योजना र कार्यक्रमहरु फेरबदल गर्न तथा एक शीर्षकबाट अर्को शीर्षकमा रकम रकमान्तर गर्न तथा अन्य आवश्यक निर्णयहरु गर्न नगरसभा गरेको ६ महिना भित्रमा हिउँदे अधिवेशन गर्नसक्ने प्रावधान छ ।
सोही प्रावधानलाई टेकेर गढिमाई नगरपालिकाले आइतवार आफना दशौं हिउँदे अधिवेशनद्धारा विभिन्न योजनाहरु संशोधन गर्नुको साथै रकम समेत रकमान्तर गरेको हो ।
नगर अधिवेशनमा कार्यपालिकाको बहुमत सदस्यहरुको उपस्थिती रहेको थियो । रौतहटमा अझै अधिकांश स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गर्न सकेका छैनन ।