अरविन्द कुमार यादव
रौतहट, १८ माघ नेपाल-भारत सीमावर्ती क्षेत्रका पत्रकारहरूको साझा मञ्च नेपाल-भारत मैत्री संवाद यही माघ १९ गते (फेब्रुअरी १, २०२५) रौतहटको गौर नगरपालिका सभाहलमा आयोजना हुने भएको छ। Media for Border Harmony, Rautahat, Nepal को आयोजनामा हुने सो कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहनुहुनेछ। संवादको मुख्य विषय “नेपाल-भारत सम्बन्ध कायम गर्न आवागमनको महत्वपूर्ण भूमिका” तय गरिएको छ। कार्यक्रममा नेपाल-भारत सीमा क्षेत्रमा देखिएका आवागमनसम्बन्धी अवसर, चुनौतीहरू र सम्भावित समाधानहरूबारे छलफल गरिनेछ।
नेपाल-भारतबीचको सदियौंदेखिको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन सञ्चारमाध्यमहरूको भूमिका विषयक विशेष छलफल गरिनेछ। यस संवादमा नेपाल तथा भारतका प्रतिष्ठित पत्रकार, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय नेतृत्वको सहभागिता रहनेछ।
संवाद कार्यक्रमले दुवै देशबीच आपसी समझदारी बढाउन, सीमावर्ती जनजीवनलाई सहज बनाउन तथा आवागमन प्रक्रियालाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजक संस्थाको विश्वास छ। आयोजकले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउन यस महत्त्वपूर्ण संवादमा सबैलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको छ।