अरविन्द कुमार यादव
रौतहट,१४ श्रावण ।गौर नगरपालिका वडा नं. ४ अन्तर्गत गढवा टोलको मुख्य सडक छेउको नालामा तीन वर्षदेखि स्ल्याब नलगाइँदा स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। नाला खुल्लै रहेको कारण बालबालिकादेखि वृद्धवृद्धासम्म दुर्घटनाको डरमा हिँड्न बाध्य छन्।
स्थानीयवासीहरूको अनुसार, पटक–पटक गुनासो गर्दा पनि नगरपालिकाले कुनै पहल नलिएको आरोप छ। वर्षायाममा झन् समस्या दोब्बर हुने बताइएको छ, किनभने पानी नालाबाट बग्न नसक्दा सडक डुबानमा पर्छ। साथै दुर्गन्ध र फोहोर व्यवस्थापनमा पनि समस्या देखिएको छ।
“तीन वर्ष भयो, चुनावमा आएका नेताहरूले आश्वासन त दिन्छन्, तर काम केही हुँदैन,” गढवा टोलका एक स्थानीय बासिन्दा बताउँछन्।
यस विषयमा गौर नगरपालिकाको ध्यानाकर्षण गराउँदै स्थानीयहरू यथाशिघ्र स्ल्याब निर्माणको माग गरिरहेका छन्।