अरविन्द कुमार यादव
रौतहट ,१९ श्रावण रौतहटमा वागमतीको कटान रोक्न नगरप्रमुख बैजनाथ प्रसाद यादव(बैजु यदव)को सक्रियता देखिएको छ।अविरल वर्षाका कारण वागमती नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ । यसैक्रममा रौतहटको माधवनारायण नगरपालिका वडा नं. ९ गढोघाटस्थित वागमती नदी किनारमा रहेको बाँधमा कटान सुरु भएको खबर प्राप्त भएपछि नगर प्रमुख श्री बैजनाथ प्रसाद यादव तत्काल घटनास्थल पुगेका छन् ।
नगर प्रमुख यादवले बाँध निरीक्षण गर्दै तत्काल रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्देशन दिएका थिए । उहाँको पहलमा तत्काल बोरा र जाली प्रयोग गरी तटबन्ध निर्माणको कार्य सुरु गरिएको छ ।
स्थानीय बासिन्दाहरू र सुरक्षाकर्मीहरूको सहयोगमा कटान रोक्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ । नगर प्रमुख यादवले जोखिम न्यूनीकरणका लागि निरन्तर निगरानी र थप सुरक्षात्मक उपायहरू अवलम्बन गरिने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय बासिन्दाहरूले नगर प्रमुखको सक्रियता र शीघ्र हस्तक्षेपप्रति धन्यवाद व्यक्त गरेका छन् । नदी कटानले अझ क्षति पुर्याउनु नपरोस् भनी सम्पूर्ण निकाय सतर्क रहेको बताइएको छ ।

