रौतहट ,२६ कार्तिक ।नेकपा (एमाले) द्वारा देशभर आयोजना गरिएको नगरपालिका स्तरीय कोणसभाको क्रममा रौतहटको सदरमुकाम गौरमा आयोजित बृहत् जनसभामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ताले वर्तमान राजनीतिक अस्थिरता समाधानको मूल उपाय संसद पुनःस्थापना भएको बताउनु भएको छ।
गौर नगरपालिका कमिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सांसद प्रत्यासी समेत रहनुभएका गुप्ताले जेन्जी आन्दोलनले देशको राजनीतिक तहमा प्रभाव पार्न सफल भए पनि अहिलेको अन्तरिम सरकार पूर्ववर्ती निर्णय र आयोगहरू खारेज गर्नका लागि होइन, तोकिएको समयभित्र चुनाव गराउनका लागि बनेको सरकार भएको स्पष्ट पार्नुभयो।
गुप्ताले भन्नुभयो अरू दललाई एमालेले सहयोग गरेर सरकार बनाउनू राम्रो र एमाले नै अगाडि आएर स्थिर सरकार बनाउन खोज्दा खराब भन्ने प्रवृत्ति अचम्मको राजनीति हो। एमाले देशको समृद्धि, सुशासन र विकासको एजेण्डासहित अघि बढ्ने दल हो। यो दल जनताबाट उठेको हो, विदेशी शक्तिको दबाबले कमजोर हुँदैन।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सुरक्षा निकाय र राष्ट्रका संवैधानिक संरचनालाई लक्षित गर्दै गरिएको क्रियाकलापले अन्तर्राष्ट्रिय समुदायको नजरमा नेपाललाई नै प्रभावित तुल्याएको आरोप पनि उहाँले लगाउनुभयो। उहाँका अनुसार सुरक्षा निकाय र प्रशासनलाई होच्याउने, कमजोर देखाउने र राज्य संयन्त्रप्रतिको जनविश्वास तोड्ने प्रयास क्षम्य नहुनेछ।
गुप्ताले जोड दिए आज पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी हो र भोलि चुनाव भए फेरि जनताले नै ठूलो दलको रूपमा एमालेलाई पुनः भरोसा गर्नेछन्। तर जेन्जी आन्दोलनका मागहरू सडकमा होइन, संविधानले तोकेको प्रक्रियाबाट र संसदभित्रै समाधान हुनुपर्छ। त्यसका लागि पुनः संसद स्थापना अनिवार्य छ।
कार्यक्रममा हजारौं जनता, पार्टीपंक्ति र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। एमालेको केन्द्रीय कार्यालयको निर्देशनअनुसार रौतहट जिल्लाका १८ वटै स्थानीय तहमा यस्ता कार्यक्रम आज एकैसाथ सम्पन्न गरिएको पार्टी स्रोतले जनाएको छ।
गुप्ताले अन्त्यमा भने पुनः संसद बहाल गरियो भने जेन्जी आन्दोलनकारी युवाहरूका जायज मागहरू संविधान संशोधनमार्फत संबोधन गरिनेछ। समयमै चुनाव भयो भने एमाले नै पहिलो पार्टी भएर आउनेछ।

