जनकपुरधाम,३पुस । मधेसका नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान पदभार ग्रहण गर्दै मन्त्री पटेलले मधेसका युवाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् ।
जेनजी आन्दोलनको मर्म र भावनालाई बुझ्दै यो मन्त्रालयबाट युवाहरूले सुरु गर्न लागेको व्यवसायमा विशेष प्रकारको छुटको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । युवा उद्यमीहरूलाई पुरस्कृत गर्ने आफ्नो योजना समेत रहेको उनले बताए । यसका साथै सङ्घ सरकारसँग समन्वय गरेर धार्मिक पर्यटनको विकासका लागि योजना अगाडि बढाइने उनले बताए ।
मधेसको विकासका लागि उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको विकासका लागि चलिरहेका योजनाहरूलाई तीव्रताका साथ अगाडि बढाउने मन्त्री पटेलले बताए । उनले चलिरहेका योजनाहरूलाई चालु आर्थिक वर्षमा सम्पन्न गर्नु समेत आफ्नो लक्ष्य हुने उनको भनाइ थियो ।
गत मङ्सिर २१ गते कृष्ण यादवले मधेसको मुख्यमन्त्री पदको शपथ लिँदा पटेल पनि विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका थियो । तर मुख्यमन्त्री यादवले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पटेललाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

