मुख्यमन्त्री कृष्णप्रसाद यादव विश्वास मत आज लिदै,एमाले पनि दिने

पछिल्लाे समाचार

रौतहट ,४ पुस।मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई प्रमुख प्रतिपक्षी दलको रूपमा हेरिएको नेकपा (एमाले) ले समेत विश्वासको मत दिने निर्णय गरेसँगै उनको सरकार थप सुदृढ हुने देखिएको छ ।

प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाका अनुसार मुख्यमन्त्री यादवले आज शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने गरी कार्यतालिका तय भएको छ । यसअघि यादव एमालेबाहेकका सात राजनीतिक दलहरूको समर्थनमा मुख्यमन्त्री चुनिएका थिए ।

एमाले संसदीय दलले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि मधेशको राजनीतिमा नयाँ समीकरण देखिएको छ । एमालेकी प्रदेश सभा सदस्य शारदा थापाका अनुसार संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेको छ । उनले भनिन्, ‘हाम्रो दलले मुख्यमन्त्रीजीलाई विश्वासको मत दिने निर्णय गरेको छ, सोही अनुसार हामी आज सदनमा प्रस्तुत हुनेछौँ ।’

मुख्यमन्त्री यादवले गत बुधबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए । संविधानको प्रावधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको छ । एमालेको समेत साथ पाउने भएपछि मुख्यमन्त्री यादवले झण्डै दुई तिहाइभन्दा बढी मतका साथ प्रदेश सभामा आफ्नो पकड बलियो बनाउने निश्चित भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय