काठमाडौँ,४ पुस। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा मधेशी खुला (पुरुष) तर्फ अजय कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कुल २,२२७ मतमध्ये उनले १,८१४ मत प्राप्त गर्दै मधेशबाट सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बनेका हुन्।
गौर, रौतहटका स्थायी बासिन्दा गुप्ता पार्टीभित्र साहसी, स्पष्ट वक्ता र ऊर्जाशील युवा नेताका रूपमा परिचित छन्। उनी वि.सं २०७४ मा गौर नगरपालिकाका मेयरको रूपमा निर्वाचित भई स्थानीय तहमा सफल नेतृत्व गरेका थिए।
गुप्ताले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग रौतहट क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनी थोरै मतले पराजित भए पनि यो जितले उनको राजनीतिक यात्रा नयाँ उचाइमा पुगेको छ।
उनको जितलाई नेकपा (एमाले) भित्र मधेशी समुदायको नेतृत्वमा बलियो उदय र युवा नेतृत्वप्रतिको विश्वासको रूपमा हेरिएको छ। युवा नेताको रूपमा उनको सक्रियता र जनता माझको लोकप्रियता पार्टीका लागि पनि प्रेरणादायी रहेको बताइएको छ।

)