अरविन्द कुमार यादव
रौतहट ,३ पुस।करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहट उद्योग वाणिज्य सङ्घको अगुवाइमा गौरमा विरोध सभा आयोजना गरिएको छ।
सभामा सहभागी उद्योगी तथा व्यापारीहरूले करदाता सेवा कार्यालय खारेज हुँदा स्थानीय करदाता र व्यवसायीहरूलाई सेवा लिन टाढा जानुपर्ने अवस्था सिर्जना हुने भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले कर सम्बन्धी सेवा नजिकै उपलब्ध गराइनुपर्ने माग गर्दै निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
वक्ताहरूले करदाता सेवा कार्यालयले स्थानीय व्यवसायीलाई सहज सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै कार्यालय खारेज गरिनु व्यवसायमैत्री नीति विपरीत भएको बताए। उनीहरूले यदि निर्णय फिर्ता नभए चरणबद्ध रूपमा आन्दोलनलाई थप कडा बनाइने चेतावनीसमेत दिएका छन्।
उद्योगी–व्यापारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त विरोध सभाले करदाता सेवा कार्यालय कायम राख्न दबाब बढाउने उद्देश्य राखेको जनाइएको छ।

