गौर विद्युत वितरण केन्द्रमा कडाइ अभियान: एक महिनामै करोडभन्दा बढी बक्यौता संकलन

पछिल्लाे समाचार

प्रदिप यादव
गौर,१६ पुस। नेपाल विद्युत प्राधिकरण अन्तर्गत रहेको गौर विद्युत वितरण केन्द्रले पछिल्लो एक महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी बक्यौता महसुल संकलन गर्न सफल भएको छ। लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलीलाई केन्द्रका प्रमुख धिरेन्द्र यादवको नेतृत्वमा तीव्र बनाइएपछि उल्लेखनीय परिणाम देखिएको हो।
विगत केही वर्षदेखि सरकारी तथा निजी निकाय, उद्योग–व्यवसाय र व्यक्तिगत उपभोक्ताबाट ठूलो रकम बक्यौता रहँदै आएको थियो। यसले केन्द्रको नियमित मर्मत, लाइन विस्तार र सेवा सुधारमा समस्या उत्पन्न हुँदै आएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै नयाँ कार्ययोजनासहित बक्यौता असुली अभियान सुरु गरिएको वितरण केन्द्रले जनाएको छ।
चरणबद्ध कडाइ र प्रत्यक्ष अनुगमन
केन्द्र स्रोतका अनुसार पहिलो चरणमा बक्यौता रहेका उपभोक्ताको विवरण अद्यावधिक गर्दै लिखित सूचना जारी गरिएको थियो। त्यसपछि पनि रकम नबुझाउने उपभोक्तामाथि लाइन काट्ने चेतावनी, प्रत्यक्ष सम्पर्क तथा फिल्ड अनुगमनलाई तीव्र बनाइएको थियो।
केन्द्र प्रमुख धिरेन्द्र यादवले भने,
“लामो समयदेखि थन्किएको बक्यौता उठाउनु हाम्रो प्राथमिकता थियो। सबै उपभोक्तालाई समान व्यवहार गर्दै नियमअनुसार कारबाही गर्दा एक महिनामै उल्लेखनीय रकम संकलन गर्न सफल भयौँ।”
उनका अनुसार केही ठूला बक्यौतादार संस्थासँग छलफल गरी किस्ताबन्दीमा रकम बुझाउने सहमति पनि गरिएको छ, जसले आगामी महिनामा थप राजस्व संकलन हुने अपेक्षा गरिएको छ।
सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा
विद्युत प्राधिकरणका कर्मचारीहरूका अनुसार बक्यौता संकलन बढेसँगै ट्रान्सफर्मर मर्मत, लाइन विस्तार र अनियमित विद्युत आपूर्ति समस्या समाधानमा सहजता आउनेछ। यसले उपभोक्तालाई गुणस्तरीय सेवा दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीय उपभोक्ताहरूले पनि बक्यौता नतिर्नेहरूमाथि कडाइ हुनु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन्। एक उपभोक्ताले भने, “नियमित तिर्नेले मात्र भार बोक्नुपर्छ भन्ने अवस्था अन्त्य हुनुपर्छ, अहिलेको अभियान राम्रो छ।”
अभियान निरन्तर रहने
केन्द्र प्रमुख यादवले आगामी दिनमा पनि बक्यौता असुली अभियानलाई निरन्तरता दिइने र समयमै महसुल नतिर्ने उपभोक्तामाथि नियमअनुसार कडा कदम चालिने स्पष्ट पारे। साथै, उपभोक्तालाई नियमित रूपमा महसुल बुझाएर प्राधिकरणलाई सहयोग गर्न उनले आग्रह गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय