प्रेमचन्द्र झा
माघ २१ गते
रौतहट । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार किरण साहले स्थानीय तहमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले रौतहट क्षेत्र नम्बर २ का अधिकांश नगरपालिका भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै आफू निर्वाचित भएपछि स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने कडा नियम–कानुन निर्माण गर्ने बताएका छन्।
निर्वाचन जितेपछि जनतासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिने बताउँदै शाहले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरी जनतासँग निरन्तर सम्पर्कमा रहने बताए। “साधी, छठियार, पूजा, पुण्यतिथि जस्ता जनजीवनसँग जोडिएका कार्यक्रममा जनताको जानकारी अनुसार म स्वयं उपस्थित हुन्छु,” उनले भने, “जनताबाट जति बेला सूचना आउँछ, त्यति बेलै म त्यहाँ पुग्ने प्रयास गर्छु।”
महिला, दलित, जनजाति तथा पिछडिएको वर्गका अधिकार कागजमा मात्र सीमित भएको उल्लेख गर्दै शाहले यस विषयमा आफूले पहिले पनि संसदमा पटक–पटक आवाज उठाउँदै आएको दाबी गरे। उनले भने, “कुनै महिला वा दलितमाथि अन्याय भएको जानकारी पाउने बित्तिकै म सम्बन्धित निकायमा प्रत्यक्ष सम्पर्क गरी समस्या समाधानको पहल गर्दै आएको छु।”
रौतहट क्षेत्र नम्बर २ का मुख्य समस्याका रूपमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र लाल बकैया नदीको कमजोर तटबन्धलाई उनले औँल्याए। वर्षायाममा नदीको तटबन्ध कमजोर हुँदा ठूलो क्षति हुने गरेको भन्दै यसको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए। साथै, हरेक वर्ष हिन्दु–मुस्लिम धार्मिक पर्वका बेला हुने अवाञ्छित गतिविधिले आपसी सद्भाव बिग्रँदै गएको भन्दै धर्मको नाममा राजनीति गर्ने र गुण्डागर्दी मच्चाउने तत्वलाई नियन्त्रण गर्ने उनले बताए।
“निर्भय, पारदर्शी र सुशासित समाज निर्माण गर्दै क्षेत्रलाई गुण्डागर्दीमुक्त बनाउने, शिक्षामा सुधार ल्याउने नै मेरो मुख्य उद्देश्य हो,” शाहले भने।
आगामी निर्वाचनमा आफू १० हजार मतको अन्तरले विजयी हुने दाबी गर्दै शाहले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो आधार रहेको बताएका छन्।

)