रौतहट ,५ भदौ।निर्माण कम्पनीले समयमा सडक निर्माण गर्न नसकेको भन्दै स्थानीयहरुले मधेश प्रदेशका एक पुर्व राज्य मन्त्रीको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
रौतहटको गौर समनपुर सडकखण्ड निर्माणमा निर्माण कम्पनी साह निर्माण सेवाले चरम लापरबाही गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा मंगलवार दर्जनौंको संख्यामा गएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी सिडिओ हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
गौर समनपुर सडकखण्ड निर्माण गर्ने ठेक्का लिएका साह निर्माण सेवाले म्याद भित्र सडक बनाउन नसकेको भन्दै स्थानीयहरुले ठेकेदारलाई कार्यवाही गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी सिडिओ रेग्मी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका छन् ।
साह निर्माण सेवाले २०७९ असार १७ गते २०८१ भदौ १० गतेसम्म २० करोड ५० लाख भन्दा बढी रुपैयामा उक्त सडक कालोपत्रे गर्ने ठेक्का लिएका थिए ।
निर्माण कम्पनीले ठेक्का सकार गरेको म्याद सकिन अब ६ दिन मात्र बाकी रहेको अवस्थामा १० प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई आफुहरुले ध्यानाकर्षण गराएको जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र यादवले बताए ।
सडक निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको र समयमा सडक निर्माण गर्न नसक्दा हजारौं सर्वसाधारण नागरिक दुख भोग्न बाध्य भएको नेता यादवले बताए ।
मंगलवार ज्ञापनपत्र बुझाएर सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएको र आफुहरुको माग बारे सुनुवाइ नभए आउदो भदौ १० गते पछि थप संघर्शका कार्यक्रम तय गर्ने नेता यादवले बताए ।
रौतहटका प्रदेश सान्सद नागेन्द्र साह ठेकेदार रहेका छन । साहले दुई वर्षमा १० प्रतिशत पनि काम सम्पन्न गर्न नसक्नु ठूलो चिन्ताको विषय रहेको बिज्ञप्तिमा उल्लेख छ ।
ठेकेदार साहले समयमा सडक निर्माण नगरि अल्पत्र छाडेर जनतालाई दुख दिने काम गरेको उनिहरुको भनाइ छ ।
निर्माण कम्पनी साह निर्माण सेवाले समयमा सडक निर्माण नगरि अल्पत्र छाडेका कारण आम नागरिक निकै जोखिम मोलेर उक्त सडकमा आवत जावत गर्न बाध्य रहेको बिज्ञपतिमा जनाइएको छ ।
निर्माण कम्पनीले उक्त सडकमा कालोपत्रे गर्न ठाउँ ठाउँमा जोतेर पहिला भन्दा अहिले झन खराव बनाइदिएको कारण सवारी साधन र पैदल समेत हिड्न समस्या हुने गरेकोले तुरुन्त उक्त अधुरो सडक निर्माण गर्न स्थानिहरुले माग गरेका छन ।