अरविन्द कुमार यादव
रौतहट, ०६असार । गरुडा नपाको १३औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज एक भव्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। नगरप्रमुख कन्थमणी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रू. ६९ करोड २६ लाख १७ हजार ३६७ को संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो, जसलाई नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
बजेट तथा नीतिगत दस्तावेजमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना, लघु उद्यम प्रवर्द्धन, महिला सशक्तिकरण, बालबालिका संरक्षण, दलित तथा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रत्याभूति, साथै पछाडि पारिएका वर्गहरूको समावेशी विकास सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
नगरसभा समारोहमा क्षेत्रीय सांसदहरू, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिका कर्मचारी तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
नगर प्रमुख जयसवालले समावेशी, पारदर्शी र जनउत्तरदायी स्थानीय शासनमार्फत गरुडा नगरलाई समृद्ध र स्वावलम्बी बनाउने दिशामा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, कार्यक्रमको सफल आयोजना र सहभागिताका लागि सबै सरोकारवालाप्रति नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।