युवा अभियन्ता अब्दुल सलाम राष्ट्रिय युवा संसदमा विजयी, राजधानीमा सपथ ग्रहण

पछिल्लाे समाचार

अरबिन्द कुमार यादव

रौतहट ,८ श्रावण ।समाजसेवामा समर्पित एक युवा अहिले राष्ट्रिय नेतृत्वको तहसम्म पुग्न सफल भएका छन्। रौतहट जिल्लाको गुजरा नगरपालिका–४, कनकपुर निवासी २१ वर्षीय सामाजिक अभियन्ता अब्दुल सलामले राष्ट्रिय युवा संसद २०८२ मा रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्दै शानदार विजय हासिल गरेका छन्।

सलामले राजधानी काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित भव्य समारोहमा राष्ट्रिय युवा सांसदको रूपमा सपथ ग्रहण गरे। देशभरका सयौं युवाबीच प्रतिस्पर्धा गर्दै चयन प्रक्रियामा उत्कृष्ट प्रदर्शन गरेका उनी, अब राष्ट्रिय युवा नीति निर्माण प्रक्रिया र युवाको सशक्त सहभागिताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नेछन्

सन् २०१८ अर्थात् विसं २०७५ देखि समाज रूपान्तरणका लागि निरन्तर संघर्षरत सलामले बाल अधिकार, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, लैंगिक समानता लगायतका विषयहरूमा जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएका छन्।
उनले नेतृत्व गरेका “युवा जागरण”, “शिक्षा मेरै अधिकार”, “समानताको यात्रा” जस्ता अभियानहरूले रौतहटका युवालाई मात्रै होइन, प्रदेशकै युवालाई सामाजिक उत्तरदायित्वप्रति जागरूक बनाएका छन्।

सामाजिक अभियन्ताका रूपमा उनले नेपालका विभिन्न प्रदेशमा युवा सम्मेलन, सामाजिक संवाद कार्यक्रम र नीति संवादमा प्रतिनिधित्व गर्दै आएका छन्। साथै भारत, बंगलादेश, र मलेसियामा आयोजना भएका युवा नेतृत्व तालिम तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भई नेपालको युवा आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सफल भएका छन्।

सपथग्रहण कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अब्दुल सलामले भने,
यो जित मेरो मात्र होइन, रौतहटको हरेक युवा, समाजका परिवर्तन चाहने हरेक युवाको जित हो। अब म युवा संसदमार्फत हाम्रो माग, हाम्रो सोच र हाम्रो सम्भावनालाई नीति निर्माण तहसम्म पुर्‍याउनेछु। युवाको आवाज अब राज्यले सुन्नैपर्नेछ।”

उनले समावेशी नीति निर्माण, गुणस्तरीय शिक्षा, सीप आधारित रोजगारी र लैंगिक समानताका सवालमा विशेष प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाए।

यो सफलतालाई लिएर गुजरा नगरपालिका, रौतहटका विभिन्न सामाजिक संघसंस्था, युवासञ्जाल र अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। धेरैले अब्दुल सलामको यो यात्रालाई एक प्रेरणादायी उदाहरणको रूपमा लिएका छन्।

गुजरा नगरपालिकाका एक स्थानीयले बताए
हामीले हाम्रो गाउँबाट राष्ट्रिय तहमा उभिएको एउटा यथार्थ नायक देख्यौं। सलामले देखाएका प्रतिबद्धता र कार्य नै उनको सफलता हो।

अब्दुल सलामको यो विजय केवल व्यक्तिगत उपलब्धि होइन, यो युवाको आवाज, सामर्थ्य र संकल्पको विजय हो। समाज परिवर्तन सम्भव छ भन्ने विश्वास उनले व्यवहारमै देखाएका छन्। युवा पुस्ताले राष्ट्रको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने सन्देश पनि उनको सफलताले दिइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय