जनकपुरधाम ,१४ असोज। मुख्यमन्त्री सतीश सिंहको सरकार अल्पमतमा परेपछि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलीय सहमति बनेको छ । सत्तारूढ दल जनमत पार्टी र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेको हो।
जनमत पार्टीका नेता महेश यादवका अनुसार नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा गठन गर्ने चार दलबीच सहमति भएको छ । उनका अनुसार पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार गठनको तयारी भइरहेको छ ।
यादवले प्रदेश प्रमुख काठमाडौंमा रहेकाले बहुमत सांसदको हस्ताक्षरसहित पत्र बुझाउन पर्खाइमा रहेको बताए । ‘प्रदेश प्रमुख फर्कनु भएलगत्तै पत्र पेस गर्ने तयारी छ,’ उनले भने । मन्त्रालयहरूको भागबन्डाबारे भने अझै सहमति नभएको उनको भनाइ छ ।
सहमती अनुसार कांग्रेस संसदिय दलका नेता कृष्ण यादव मुख्यमन्त्री बन्ने छन् । उनी कांग्रेस मधेश प्रदेशका सभापति समेत हुन् । शुक्रबार बसेकाे कांग्रेस, एमाले, जनमत पार्टी र लाेसपाकाे संसदिय दलकाे बैठकमा यस्ताे सहमती भएकाे हाे ।
जनमत पार्टीले गत असोज २८ गते आफ्नै पार्टीबाट बनेका मुख्यमन्त्री सतीश सिंहलाई फिर्ता बोलाएपछि कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक छ ।
नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ (एक निलम्बनबाहेक), जनमतका १३ र लोसपाका ८ (एक निलम्बनबाहेक) सांसद छन् । यो संख्याका आधारमा नयाँ सरकार गठनका लागि पर्याप्त बहुमत जुट्ने देखिएको छ ।कालिका टाईम्स