रौतहट, १९ असोज । दुई दिन देखि भईरहेको अविरल बर्षा संगै बागमती, लाल बकैया, झाझ सहितका नदीमा आएको बाढीको कारण जिल्लाको अधिकाँश भु भागमा बाढीको चपेटामा परेर डुबानमा परेका छन् ।
झाझ नदीमा आएको भिषण बाढीको कारण गौर गंगापिपरा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँचै वडाको २५ प्रतिशत घरमा पानी प्रवेश गरेका छन् ।
स्थानीय बासिन्दाहरु आ आफनो सामानहरु सुरक्षित स्थानमा सार्ने व्यवस्थापनमा जुटेपनि बाटो भरी दुई देखि तिन फिट सम्म पानी जम्नाले बाहिर निस्कने अवस्था रहेको छैनन् । साथै दुर्गा गाउँ पालिकाको सयौं विगहा जग्गामा रहेका धानबाली पूणै रुपमा डुवेको अवस्था छ । दुर्गा भगवती गाउपालिका ३ मत्सरी नजिकैको बाँध फुट्न लाग्दा प्रहरीको सहयोगमा मर्मत गरेर सुरक्षित बनाइएको छ ।
वडा नम्वर ३ मत्सरीमा १५ घरमा पानी प्रवेश गर्दा छिमेकीको घरमा आश्रय लिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले वडा नम्वर २ भलोहिया स्थित डोरी खोलाको पानी वस्तीमा प्रवेश गर्दा २० घर धुरीको ८० जना विस्थापित भई सरस्वती माध्यमिक विद्यालयमा राखिएको बताए ।
यस्तै वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीको बाँधमा प्वाल पर्दा स्थानीइ बासिन्दा र प्रहरीको सहयोगमा मर्मत गरी बन्द गरिएको तथा त्यहाँ पासवान टोलका १५ देखि २० घरमा झाझ खोलाको पानी छिरेको हुँदा छिमेकीको घरमा आश्रय लिएको प्रहरीले बताए ।
यसैगरी राजपुर नगरपालिका वडा नम्वर ३ स्थित हुलाकी राजमार्गमा लाल बकैया नदीको बाढीको कारण पूर्ण रुपमा बाटो अवरुद्ध भएको छ । सोही वडाको बलुवा टोलमा बर्षाको पानी ४ जनाको घरमा छिरेको बताइएको छ ।
चन्द्रपुर नगरपालिका १ र २ को बीचमा पर्ने पूर्वी लचका २ ठाउमा पानीको बहाव अत्याधिक बढेको कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । चन्द्रपुर ३ गैडाटारबाट चन्द्रपुर जाने भित्री सडक अवरुद्ध रहेको छ ।
गुजरा ८ स्थित लमहा खोलामा पानीको बहाव उच्च रहदा बालचनपुर जंगलसैया भित्री सडक बन्द छ । वडा नम्वर ९ अमतवा स्थित प्रतिक टोलमा अविरल बर्षाका कारण १० घर धुरीमा बर्षाको पानीको पसेको जस मध्ये १ घर भत्किएको, छिमेकीको र आफन्तहरुको घरमा विस्थापित भई बसेको छ ।
वृन्दावन नगरपालिका १ स्थित रहेको खोलाको वगरमा १२८ घरधुरी घर बनाएर बस्ने र खेती तथा पशुपालन गर्ने भएकोमा बाढीको कारण सुरक्षित स्थान सारिएको छ । बलेखरी खोरमा माट्रोटोल, खैरा टोल, विश्राम्पुरमा आ आफनो पुरानो घरमा सरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मौलापुर नगरपालिका १ मर्यादपुर १ सिथ्त गाउँ देखि पूर्व तर्फ लाल बकैया खोलामा आएको बाढीले गर्दा बाँध फुट्न २ प्रतिशत मात्रै बाँकी रहेको हुँदा त्यसबाट १, २, ३ र ५ उच्च जोखिममा रहेको बताइएको छ ।
इशनाथ ८ मनसरी टोलमा शैख इद्रिशको ४५ बर्षीय छोरा ननका भन्ने जमरुण आफनै्र घरको बरन्डामा बसिरहेको समयमा चट्याँग लागेर मृत्यु भएको छ । यमुनामाई ४ स्थित रहेको अस्थायी प्रहरी पोष्ट बमनहरको हातामा बकैया खोलाको पानी छिरेर पूर्व तर्फको वाल भत्किएको छ ।
रौतहट सदरमुकाम गौर पूर्ण रुपमा सुरक्षित रहेको छ । बर्षाकै पानीले गर्दा अलि समस्या रहेको बताउदै डिएसपी कार्कीले सपगढा लचकामा पानीको वेग अत्याधिक रहेको हुँदा दुई पाँग्रे सवारी साधन बन्द रहेपनि ठूला सवारी साधन निर्वाध रुपमा गुडिरहेको बताए ।
यसैगरी गढीमाई नगरपालिका६ ब्रम्ह्स्थान स्थित बागमती नदीमा आएको बाढीको कारण बाँध फुटेको छ । उक्त बाँधको पानी धरमपुर, बखरी, पकहा, सिगारवन गाउँ डुवानमा पर्न सक्ने सम्भावना रहेको हूँदा स्थानीय बासिन्दाहरुलाई सजग रहेन अपिल गरिएको छ । लक्ष्मिपुर देखि लिएर धरमपुरको वागमती पुल सम्म पानीको बहाव अत्याधिक बढेको कारण बाँध फुट्ने सम्भावना उच्च रहेको हुँदा सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले आग्रह गरेका छन् ।
विहान साढे ८ बजे सम्मको समग्र अवस्था वारे प्रहरीले उपलब्ध गराएको रिपोर्टका आधारमा तयार पारिएको समाचार हो ।तराई टप