रौतहट, २२ असोज। जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं. १(ख) अन्तर्गतको प्रतिनिधि छनोट कार्यक्रम मंगलबार सम्पन्न भएको छ। माधव नारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिका र गढीमाई नगरपालिका क्षेत्रका नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री माननीय योगेन्द्र यादव उपस्थित रहनु भएको थियो।
कार्यक्रममा उपस्थित संगठित सक्रिय सदस्य तथा पार्टी प्रतिनिधिहरूको सहमति र छलफलको आधारमा आठ जना मधेश प्रदेश अधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको छ। चयन भएका प्रतिनिधिहरूमा सीताराम मुखिया, श्याम बिहारी यादव, अमृता कुमारी, मुनिता कुमारी, हरिनारायण यादव, गजेन्द्र यादव, असर्फी यादव र राजेश कुमार यादव रहेका छन्। निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूलाई प्रमुख अतिथि पूर्व राज्यमन्त्री यादवले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीलाई सुदृढ र सबल बनाउने जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय नेताहरूले पनि प्रतिनिधि छनोटलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा लिँदै यसले मधेश प्रदेश अधिवेशनलाई थप प्रभावकारी र सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।