असंवैधानिक मुख्यमन्त्री राजिनामा सात दलको माग

पछिल्लाे समाचार

रौतहट ,२७ कार्तिक मधेस प्रदेशमा भएको मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोधमा रौतहटको सदरमुकाम गौरमा आज विरोध प्रदर्शन गरिएको छ। नेपाली काँग्रेस रौतहटका जिल्ला सभापति सुनिल यादवको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा सातदलीय गठबन्धनका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विरोध कार्यक्रममा सहभागीहरूले संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको नियुक्तिको विरोध गर्दै न्यायसंगत राजनीतिक अभ्यासको माग गरेका थिए। उनीहरूले प्रदेशमा स्थिरता र सुशासन कायम गर्न संवैधानिक प्रक्रिया र नैतिक आचरणअनुसार शासन सञ्चालन गर्न सरकारसँग आग्रह गरे। जिल्ला सभापति यादवले सम्बोधन गर्दै भने, “संविधानको मर्म र जनताको जनादेशमाथि अन्याय हुने कुनै पनि कार्य स्वीकार्य छैन। हाम्रो आन्दोलन संवैधानिकता, पारदर्शिता र लोकतन्त्रको संरक्षणका लागि हो।”

विरोध कार्यक्रममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको थियो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले मधेस प्रदेशमा हाल तोकिएको मुख्यमन्त्री असंवैधानिक रहेको आरोप लगाएका छन्। उनले प्रदेशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै तत्कालका मुख्यमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग अपील गरेका छन्।

नेता यादवका अनुसार संविधानको मर्म र लोकतान्त्रिक अभ्यास विपरीत ढङ्गले गरिएको मुख्यमन्त्रीको नियुक्तिले प्रदेशमा राजनीतिक अस्थिरता बढाएको छ। उनले भने, “संविधानको धारा र जनमत दुवैको उल्लङ्घन गर्दै गरिएको यस्तो नियुक्ति स्वीकार्य हुन सक्दैन। सरकार र संवैधानिक निकायले तत्काल हस्तक्षेप गरी यसलाई सुधार गर्नुपर्छ।”

यादवले संवैधानिकता र सुशासनको रक्षा सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मधेस प्रदेशमा लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन आग्रह गरे। शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको उक्त प्रदर्शनले मधेस प्रदेशको पछिल्लो राजनीतिक अवस्थाप्रति व्यापक चासो र असन्तुष्टि झल्काएको देखिन्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय