अरविन्द कुमार यादव
रौतहट ,२८ मंसिर ।फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी निर्देशित जनता समाजवादी पार्टी नेपाल रौतहटको संगठन विस्तार तथा प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न भएको छ।
बैठक रौतहट उद्योग वाणिज्य संघको सभाहल गौरमा शनिबार गरिएको थियो। जसपा नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजना तथा जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।
बैठकबाट प्रत्येक प्रतिनिधि सभा निर्वाचन समन्वय समितिको गठन यसै मंसीर २९ गते र पौष १ गते भित्र गर्ने गरि निर्णय समेत गरिएको छ। साथै पार्टी संगठनलाई वडा तहदेखि जिल्लास्तरसम्म सुदृढ बनाउने, कार्यकर्ताबीच एकता मजबुत पार्ने तथा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको आयोजकले जनाएको छ। बैठकमा पार्टीका जिल्ला स्तरीय नेताहरू, प्रतिनिधिहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै जनताको हक-अधिकारका लागि पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरे। साथै प्रतिनिधि सभा सम्बन्धी समसामयिक राजनीतिक विषयमा पनि गहन छलफल भएको थियो। बैठकले आगामी दिनमा संगठनलाई अझ प्रभावकारी बनाउँदै जनतासँग नजिकिएर काम गर्ने निर्णय गरेको जसपा नेपाल रौतहटका कार्यालय सचिव दिनेश कुमार यादवले जानकारी दिएको छ।
मुख्यवक्ता जनता समाजवादी पार्टी नेपाल केन्द्रिय उपाध्यक्ष गोविन चौधरी ,निर्वाचन बिभाग केन्द्रीय अध्यक्ष विश्वनाथ पटेल , केन्द्रिय सदस्य किरण ठाकुर,समाजवादी युवा संघ नेपाल पूर्व केन्द्रिय अध्यक्ष एवं मधेश सरकार पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव ज्युका विषेश उपस्थिति रहेको थियो।

